बर्दिया : बर्दियाको गुलरिया नगरपालिका भित्रका पाँच वटा माध्यमिक विद्यालय तीन तारा घोषणा हुने भएको छन् । घोषणा हुने भनिएका मध्ये नेपाल राष्ट्रिय शम्भु शरण माध्यमिक विद्यालय खैरापुर तीन तारा घोषणा भइसकेको छ भने चार वटा विद्यालय घोषणा हुने तयारीमा रहेका छन् ।
ध्रुव माध्यमिक विद्यालय तुल्सीपुर मङ्सिर २७ गते, गौरीशङ्कर माध्यमिक विद्यालय डल्लापुर पुस १ गते, बंगलामुखी राधाकृष्ण थारू पुस ४ गते तीन तारा घोषणा हुने तयारीमा छन् भने नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भैंसाहीको मिति तय भएको छैन ।
सरकारले विद्यालय तहको खानेपानी सरसफाइ र स्वच्छताको सुधार गरी विद्यालय शिक्षाको गुणस्तरीयता कायम गर्ने उद्देश्यले २०७४ सालमा कार्यविधि ल्याएको थियो ।
नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरूप मापदण्ड पुगेकाले विद्यालयलाई तेस्रो तारा घोषणा गर्ने तयारी भएको गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले बताइन् ।
उनका अनुसार सरकारले बनाएको कार्यविधि अनुसार नगरपालिकामा विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाएर विद्यालयको खानेपानी सरसफाइको मापदण्ड तोकेको छ ।
नगरपालिकाले बनाएको कार्यविधि अनुसार अनुगमन गरी मल्याङ्कन गर्दा तेस्रो तारामा पनि ३० अङ्क ल्याएपछि नगरपालिकाको सामाजिक विकास समितिले तीन तारे विद्यालय घोषणा गर्ने निर्णय गरेको हो ।
तीन ताराको स्तरमा पुगेको विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा पहुँच युक्त सुरक्षित खानेपानी र शौचालयको सुविधा, विद्यालयमा फोहोरमैला व्यवस्थापन, साबुन पानीले हात धुने सुविधा, विद्यालयमा फूलबारी बगैँचाको व्यवस्था, दिवा खाजाको व्यवस्था गरिएको हुन्छ ।
त्यसैगरी विद्यालयमा सरसफाइ युक्त व्यवहार परिवर्तनका साथै खानेपानी सरसफाइ मर्मत सम्हाल कोषको समेत व्यवस्था गरिएको हुनुपर्दछ । बर्दियामा नेपाल सरकारको कार्यविधि अनुसार बेस बर्दियाको सहकार्यमा पाँच वटा स्थानीय तहमा गुलरिया, बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाई लागू गरेको थियो ।
३३ वटा विद्यालयमा कार्यविधि लागू गरिएकोमा ११ वटा विद्यालय मापदण्ड पुरा गरि तीन तारा घोषणा भइसकेका छन् । पाँच वटा विद्यालय घोषणा हुने तयारी भइरहेको बेस बर्दियाका परियोजना संयोजक जददिश प्रसाद चौधरीले बताए ।
वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस संस्था द्वारा वास गेन्स परियोजना सञ्चालनमा छ ।
सो परियोजनाले नेपाल सरकारको मापदण्ड अनुसार जिल्लाका विद्यालयको खानेपानी सरसफाइ र स्वच्छता कायम गर्न काम भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार