Listen LIVE

भेरी अस्पतालबाट डाक्टरकै मोटरसाइकल चोरी

नेपालगञ्ज : नेपालगञ्जमा मोटरसाइकल चोरीका घटना बढ्दै गएका छन् । अघिल्लो साता पल्सर मोटरसाइकल चोरी भएको घटना सेलाउन नपाउदै बुलेट मोटरसाइकल चोरी भएको हो।

अति ब्यस्त नेपालगञ्जस्थित भेरी अस्पतालको स्टाफ पार्किङबाट डाक्टर बेनि प्रसाद बर्माको बुलेट मोटरसाइकल चोरी भएको छ।

गएराति साढे १२ बजे ड्युटीका लागि अस्पताल गएका बर्माले पार्किङ गरेर राखेको भे १२ प २०१३ नम्बरको बुलेट मोटरसाइकल स्टाफ पार्किङबाट चोरी भएको हो। 

डाक्टर बर्माका दाई सानु बर्माले भने– “भाइ ड्युटी गर्न  अस्पताल पुगेर स्टाफ पार्किङमा मोटरसाइकल राखेका थिए, आउँदा चोरी भइसकेको रहेछ“। यस्तो कडा स्थानबाट मोटरसाइकल चोरी हुँदा आफू तिनछक्क परेको सानु बर्माले बताए। 

मोटरसाइकल चोरी भएको घटनाबारे प्रहरीमा निवेदन दिइसकेको सानु बर्माले बताए। प्रहरीले पनि मोटरसाइकल खोज्दै गर्ला तर अहिले आफै मोटरसाइकल खोज्न लागेको उनले बताए।

स्थानीयवासीका अनुसार वर्तमान समयमा लागुऔषध सेवनकर्ता त्यस क्षेत्रमा व्यापकरुपमा देखापरिरहेका छन् । उक्त मोटरसाइकल सोही समूहले लगेको स्थानीयवासी बताउँछन् । अहिले नेपालगञ्जमा घुमुवा प्रहरी नभएको मौकामा चोरी गर्ने गिरोह सक्रिय बन्दै गएको स्थानीयहरुको भनाई छ।

प्रतिक्रिया