Listen LIVE

शिक्षक अभिभावक र बालबालिकालाई मानव बेचबिखनविरुद्ध अभिमुखीकरण

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र बालक्लबका बालबालिकालाई मानव बेचविखनबिरुद्ध अभिमुखिकरण सम्पन्न गरेको छ । 

क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखिकरण गरिएको हो । 

राजापुरको जनचेतना माध्यमिक विद्यालय मंगलपुरमा सम्पन्न भएको सो कार्यक्रममा सहभागिहरुलाई बाल अधिकार, बाल संरक्षण, समावेशी सिकाइ वातावरण तथा मानव बेचबिखनविरुद्ध अभिमुखीकरण गरिएको सुरक्षा परियोजनाले जनाएको छ । 

विद्यालय समुदायलाई बाल अधिकार र संरक्षणप्रति सचेत र संवेदनशील बनाउँदै बालमैत्री, सुरक्षित र समावेशी सिकाइ वातावरण निर्माणमा योगदान पुर्याउनुका साथै मानव बेचबिखनजस्ता अपराध रोकथाममा सामूहिक प्रतिबद्धता जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए । 

उनका अनुसार सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र बाल क्लबका प्रतिनिधिहरु, प्रधानाध्यापक सहित अन्य सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।

सुरक्षा परियोजनाका कार्यक्रम संयोजक इश्वर बिकले अभिमुखिकरण कार्यक्रमको सहजीकरण गर्दै बालबालिकाको मौलिक अधिकार, विद्यालयमा बाल संरक्षणका आधारहरू, सबैलाई समेट्ने समावेशी सिकाइ वातावरण निर्माणका आवश्यकता तथा मानव बेचबिखनका जोखिम र रोकथामका उपायहरूबारे जानकारी गराए । 

उनले बालमैत्री, सुरक्षित र समावेशी विद्यालय वातावरणले मात्र बालबालिकाको समुचित विकास सुनिश्चित गर्न सक्नेमा जोड दिए भने कार्यक्रमको सञ्चालन परियोजनाका फिल्ड सुपरभाइजर प्रमिषा थारुले गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै विद्यालयका निमित्त प्रधानाध्यापक सुबास खत्रीले बिद्यालयलाई बालमैत्री, सुरक्षित र समाबेशी बनाउनका लागि आफुहरुले निरन्तर प्रयास गरिरहेको जनाउँदै बिद्यालयले बाल सरक्षण नीति बनाई कार्यान्वयन गरेको र गुनासो सुनुवाई कार्यविधि अनुसार पनि काम गरिरहेको बताए ।

प्रतिक्रिया