Listen LIVE

बर्दियामा प्रभावकारी बन्दै दौँतरी शिक्षा

बर्दिया : गुलरियाको हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोर किशोरी आजभोलि साथीहरूसँग खुलेरै यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्दछन् ।

गुलरियामा रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रले हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोर किशोरीलाई दौँतरी शिक्षा तालिम दिए पछि उनीहरू खुलेर यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्ने भएका हुन् ।

गुलरियाको राधाकृष्ण थारु जनसेवा केन्द्रले हिमाली आधारभूत विद्यालयका १० जना र कृष्णसार आधारभूत विद्यालयका १० जना गरी २० जनालाई दौँतरी शिक्षाको तालिम दिए पछि उनीहरू आजभोलि खुलेर यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्ने भएका हुन् । विद्यालयमा मात्र हैन विद्यालय समय भन्दा बाहिर फुर्सदको समयमा पनि उनीहरू आफ्ना साथीहरूको घरमा गएर बाल विवाह नगर्न, प्रजनन स्वास्थ्यका कुरा साथीभाइ सहित साथीहरूका अभिभावकलाई सम्झाउने गर्दछन् । आफूले विद्यालयमा अध्ययन गरेको विषय र तालिममा आफूहरूले पाएको ज्ञान तालिम नलिएका साथीहरूमा बाड्न पाउँदा निकै खुशी लागेको कृष्णसार आधारभूत विद्यालयकी छात्रा लक्ष्मी गोडियाले बताइन् ।

आफूहरूले पाँच दिन सम्म लिएको तालिम समुदाय र आफ्ना साथी भाइ समक्ष सुनाउन र सजग गराउन खाली समयको समेत सदुपयोग भएको र किशोर किशोरीको यौन तथा प्रजनन अधिकारका विषयमा आफूहरूले कुरा गर्ने गरेको हिमाली आधारभूत विद्यालयका छात्र मोहम्मद हुसैनले बताए । राधाकृष्ण थारु जनसेवा केन्द्रले गत वर्ष देखि गाउँस्तरमा रहेका विद्यालयहरूमा स्वच्छ खानेपानी र किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चेतनामूलक काम गर्दै आई रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए ।

विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका मधेशी समुदायका भएकोले उनीहरूलाई उनीहरूको स्वास्थ्य सबल बनाउनका लागि किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना अन्तर्गत दौँतरी शिक्षामार्फत उनीहरूलाई तालिम दिएपछि उनीहरूले साथीहरूसँग यौन तथा प्रजनन स्वास्थ्यका कुरा गरुन् र स्वास्थ्य सबल होस भन्ने उद्देश्यले तालिम दिइएको राधाकृष्ण थारु जनसेवा केन्द्रका कर्मचारी सुमित्रा पौडेलले बताइन् ।

प्रतिक्रिया