नेपालगञ्ज : बाँकेका स्थानीय निकायलाई आर्थिक वर्ष २०८१–०८२ का लागि योजना बनाउने चटारो छ । यसैबीच संयुक्त दलित संघर्ष समिति बाँकेले बाँकेमा रहेका स्थानीय निकायहरुलाई दलितमैत्री योजनाहरु ल्याउन दबाब दिन सुरु गरेको छ ।
संघर्ष समितिले बाँकेका सबै पालिकामा पुगेर जनप्रतिनिधिलाई दलितमैत्री योजना सुझाव तथा कार्यक्रमहरुको ढाँचा प्रदान गर्न सुरु गरेको छ । जसअन्तर्गत आज बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा संघर्ष समितिका प्रतिनिधिहरु पुगेका हुन् ।
संघर्ष समितिका संयोजक कृष्ण विके रसाइली, सहसंयोजक अम्मर विश्वकर्मा, सचिव डिलबहादुर परिवार, पालिका संयोजकहरु र सचिवालय सदस्यहरुको टोलीले पालिकाका प्रमुखलाई २३ बुँदे योजनासहितको कार्यक्रम हस्तान्तरण गरेका छन् ।
संयुक्त दलित संघर्ष समिति, बाँकेले दलित समुदायका लागि आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समेटिनुपर्ने विषय वस्तु तथा मागहरु पेश गरेको हो ।
सो क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले संघर्ष समितिले पेस गरेका कार्यक्रमहरु दलितका लागि आवश्यक पर्ने कार्यक्रम रहेको बताए । उनले दलितका लागि पालिकाले केही सकारात्मक कार्यहरुको पनि थालनी गरिसकेको बताए ।
त्यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले संघर्ष समितिले प्रदान गरेका कार्यक्रमहरु पालिकाका लागि आवश्यक कार्यक्रमहरु रहेको बताए । साथै राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले संघर्ष समितिले प्रदान गरेका योजनामध्ये केही योजना राप्ती सोनारीले सुरु गरिसकेको बताउँदै आगामी वर्ष दलित समुदायलाई थप प्राथमिकता दिने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार