Listen LIVE

जलवायु परिवर्तनले यार्चागुम्बा सङ्कटमा

मुगु : जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पाटनमा पाइने जडीबुटी यार्चागुम्बालाई प्रत्यक्ष असर पारेको छ । विगतमा पर्याप्त पाइने जडीबुटी यार्चागुम्बा लोप हुन थालेको छ । 

मुगुको मुगुमकार्मारोङ गाउँपालिकाको उत्तरी भेगमा पाउने यार्चागुम्बा पछिल्लो पटक हिमाली भेगमा हिउँ कम पर्न थालेपछि लोप हुन थालेको स्थानीय पाल्जु लामाले बताए । मुगुमकार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पर्ने सानोकोइकी, ठुलोकुइकी, रिउगाड, च्याप्ने र छापाखोलामा जेठदेखि असारसम्म यार्चागुम्बा टिप्ने गरिन्छ । समुद्री सतहबाट करिब तीन हजार पाँच सयदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्चागुम्बा पाइन्छ । 

यस वर्ष उक्त पाटनमा हिउँ नपर्दा यार्चागुम्बा पनि कम पाइएको उनको भनाइ छ । जुम्लाको पातारासी गाउँपालिका–४ का तेजबहादुर रोकायाका अनुसार गएका वर्षहरूमा एक जनाले तीन सयदेखि चार सय वटासम्म मोटा अनि मुठिला खाले गुणस्तरीय यार्चा सङ्कलन गर्थे तर यो याममा पर्याप्त हिउँ नपर्दा पाटन सुक्खा भएकाले यार्चागुम्बा पाइन छोडेको छ । एक जनाले मुस्किलले ५० देखि एक सय वटासम्म पाउने गरेको उनले जनाए । 

गएका वर्षमा घरपरिवारको पूरा खर्च यही यार्चाले धानेको बताउने रोकाया अहिले कम फेला परेपछि आम्दानी घट्दा घरखर्च कसरी चलाउने भनी चिन्ता थपिएको बताउँछन् । यार्चागुम्बा पुतलीको लार्भा र ढुसीबाट पूरा हुने भएकाले एक वर्ष नटिप्दा अर्को वर्ष वृद्धि हुने डिभिजन वन कार्यालय प्रमुख अमर शाहले बताए । उनले अध्ययनमा उल्लेख भए अनुसार ढुसी परिपक्व भएर बिजनहरू माटोमा झर्न ३५ देखि ३८ दिनसम्म लाग्ने गरेको देखिएको छ ।  

केही वर्षयता हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण यार्चागुम्बा कम उत्पादन भएको उनले बताए । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पाइने यार्चागुम्बासहित १३ हजार ८९९ प्रजातिका जडीबुटी लोपोन्मुख अवस्थामा छन् । 

हरेक वर्ष यार्चागुम्बाबाट सरकारले करोडौँ राजस्व सङ्कलन गरे तापनि यसबारे अनुसन्धान र अध्ययनमा लगानी गर्न सकेको छैन । यार्चागुम्बा उत्पादन बढाउनेतर्फ आवश्यक सचेतना तथा सतर्कता बढाउन सकेको छैन ।

प्रतिक्रिया