Listen LIVE

बाजुरालगायत सुदूरपश्चिममा अनन्ते पर्व शुरु

बाजुरा : बाजुरा लगायत सुदूर पश्चिमका अछाम,बझाङ र डोटी जिल्लामा आजदेखि अनन्ते पर्व शुरु भएको छ ।

बाजुरामा दशैँ तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा मानिने अनन्ते मेला यस वर्ष असोज  २ अर्थात्  आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकै  लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरूले ३ दिनसम्म रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् ।

नेपालमा र अङ्ग्रेजहरूको युद्धको बेलादेखि नेपालमा अनन्ते मेलाको शुरुवात भएको र अङ्ग्रेजहरूले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्त्य होस् भन्ने उद्देश्यसहित अनन्ते मेला पर्व मनाउने चलन रहेको छ । 

यो पर्व मनाउँदा आफूले सोचेका मनोकाँक्षा पूरा हुने स्थानीयहरूको जन विश्वास रहँदै आएको छ । यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरूले गरेको विजय प्राप्तिको खुसीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा समेत यो पर्व हरेक वर्ष मनाउने किम्बदन्ती रहेको छ ।

कतिपयले जानकारहरूले अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरेको बताउने गरेका छन् । 

अनन्ते मेला अवधिभर लाखेनाच, माँगल, पाण्डवहरूको युद्ध कौशल, लडाइँको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ । स्थानीय लोक संस्कृति र जिल्लाको पहिचान स्वरूप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगायत एक दर्जन बढी स्थानीय गाउँमा  ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिएको छ ।

पुरुषको पर्वका रुपमा चिनिने अनन्ते मेलामा पुरुषहरू गोल घेरामा लाम लागि हातमा काँसाका धातुबाट निर्मित मीजुरा बजाएर दुई पट्टि पालै पालो गाथा गाएर रमाइलो गर्ने गरिन्छ । 

अनन्ते मेलालाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिकाले यस वर्ष साँझ–९ बजेसम्म मात्र मेला मनाउन दिने निर्णय गरेको छ । मेलालाई भव्य बनाउन मेला अवधिवर जाँड रक्सी जस्ता मादक पदार्थ विक्री वितरण एवं सेवन गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया