नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–६, गनापुरमा रहेको शिव कत्था उद्योगले दुर्गन्ध फैलिएको छ । उद्योगबाट निस्किने लेदोसहितको पानी सिक्टाको नहरमा मिसाइदिँदा नेपालगञ्ज उद्योग आसपासका बस्तीका साथै उपमहानगरपालिका–२० का राझा क्षेत्रका बस्तीहरुमा समेत दुर्गन्ध फैलाएको छ ।
कत्था प्रोसेसिङपछि निस्किएको पानीसहितको लेदो नहरमा मिसाउँदा चराचुरुङ्गीका साथै घरपालुवा जनावरहरुलाई गम्भीर असर परेको नेपालगञ्ज–२० का वडा सदस्य चक्रबहादुर बुढा बताउँछन् । उद्योगले कच्चा पदार्थ प्रशोधन गरेर मिस्किएको लेदो सोझै नहरमा मिसाउँदा त्यसको दुर्गन्ध सिक्टा नहरमा फैलिएपछि वडा नं. २० का बस्तीहरु प्रभावित भएको उनले बताए ।
‘दुर्गन्धका कारण घरभित्र समेत बस्न नसक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘दुर्गन्धले खाँदाखाँदैको खानासमेत छोड्नुपर्ने अवस्था छ ।’ दुर्गन्धले घरमा राम्रोसँग बस्न र खेतवारीमा राम्रोसँग काम गर्न सक्ने अवस्था समेत नरहेको वडा सदस्य बुढाको भनाई छ । जानकी गाउँपालिका–६ का कबिर खाँले भने, ‘उद्योगले हाम्रो निद हराम गरी सक्यो ।’
वातावरण दुर्गन्धित बनाउने गरी सञ्चालनमा रहेको उद्योगलाई स्थानीय प्रहरी, प्रशासनको समेत संरक्षण रहेको उनको भनाई छ । उनले प्रहरी प्रहरीको आडमा उद्योगले रातीको समयमा विषाक्त लेदो नहरमा मिसाउने गरेको आरोप लगाए । यस क्षेत्रका स्थानीयहरुले कत्था उद्योगले रातीको समयमा सिँधै नहरमा ढल मिसाउने गरेको बताए ।
शिव कथ्था उद्योगले विषाक्त तरल पदार्थ मिसिएको पानी बग्ने ढल लामो समयदेखि सीधै नहरमा मिसाइरहेको पाइए पनि नियमनकारी निकाय भने त्यसलाई रोक्नेबारे उदासिन देखिएका छन् । कत्था उद्योगले विषाक्त रसायनयुक्त ढल नहरमा मिसाएपछि स्थानीयले ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गर्दै आए पनि नियमन गर्ने निकाय भने त्यसबारे बेखबर देखिएका हुन् ।
शिव कत्था उद्योगबाट निस्किने रसायनयुक्त विषाक्त पदार्थले नहरको पानीको रंगसमेत कालो भएको देख्न सकिन्छ । उक्त पानी पूर्णरुपमा दुषित रहेकोले उक्त पानीबाट सिंचाई गर्दा बालीनाली नै नष्ट हुने स्थानीयको भनाई छ । उद्योगले कत्था उत्पादन गर्दै निस्कने विषाक्त पदार्थ संसोधन नगरी नहरमा मिसाउने गरेको छ । यसबारेमा कत्था उद्योगका संचालकसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार