Listen LIVE

ठाकुरबाबा र राजापुरका युवा महिलालाई हरित फोटो र भिडियोग्राफी तालिम

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारास्थित थारु होम रिसोर्टमा हरित फोटो र भिडियोग्राफी सम्बन्धी तीन दिने तालिम विहिबारबाट सुरु गरेको छ । 

क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो । 

शनिवारसम्म चल्ने सो तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १८ देखि २४ वर्ष उमेरका १० जना युवतीहरूले सहभागिता रहेको ग्रिन इकोनोमि परियोजनाका संयोजक राधेकृष्ण थारुले बताए । 

उहाँका अनुसार सो तालिमको मुख्य उद्देश्य वातावरणीय दिगोपन, हरित अर्थतन्त्र र जलवायु परिवर्तनमा केन्द्रित उच्च गुणस्तरका तस्बिर र भिडियोहरू खिच्ने क्षमता बढाएर युवा महिलाहरूलाई सशक्त बनाउनु हो । 

यसले उनीहरूलाई आफ्नो समुदाय भित्रका स्थानीय वातावरणीय मुद्दाहरू र हरित पहलहरूलाई दस्तावेजीकरण र हाइलाइट गर्न आवश्यक सीपहरू प्रदान गर्ने लक्ष्य राखेको परियोजना संयोजक थारुले बताए । 

यसबाहेक, उक्त तालिमले वातावरणीय मामिलाहरूमा जागरूकता जगाउन र स्थानीय सरकारहरू र सरोकारवालाहरूलाई प्रभाव पार्न भिडियो र तस्विर मार्फत महिलाहरुलाई सक्षम बनाउने पनि बाँके युनेस्को क्लबले जनाएको छ । 

तालिमको सहजीकरण वरिष्ठ पत्रकार रुद्रप्रसाद सुवेदीले गरेका छन् भने अर्का पत्रकार लक्ष्मी तिमल्सेना सहायक सहजकर्ताको रुपमा रहेकी छन् । 

क्लबका परियोजना संयोजक राधेकृष्ण थारु, फिल्ड सुपरभाइजरहरू संजिता रिजाल र कंचन दहितले तालिमको उचित र प्रभावकारी कार्यान्वयनमा सहयोग गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया