Listen LIVE

‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार’ संरक्षणमा जोड

नेपालगञ्ज : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले अपांगता भएका व्यक्तिहरुको समावेशीकरण र मूल प्रवाहीकरणका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । 

नेपाल परिवार नियोजन संघ बाँकेको आयोजनामा आज नेपालगञ्जमा आयोजित ’अपांगता भएका ब्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि प्रदेशस्तरीय कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री अग्रवालले अपांगताका भएका ब्यक्तिले अन्य ब्यक्ति सरह पाउनुपर्ने मानव अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । 

उनीहरुको यौन तथा प्रजनन अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार संवेदनशील रहेको अग्रवालले बताए । 

अपांगमैत्री कानुन निर्माणका लागि पनि प्रदेश सरकार तयार रहेको उनको भनाई छ । मानव अधिकारका मापदण्ड अनुसार हरेक अपांगता भएका ब्यक्तिको यौन र प्रजनन स्वास्थ्य अधिकारको इज्जत, संरक्षण र पूर्ति आवश्यक रहेको मन्त्री अग्रवालले बताए । नेपाल परिवार नियोजन संघ बाँकेका अध्यक्ष बद्रुददुजा खानको अध्यक्षतामा सम्पन्न कार्यशाला गोेष्ठीमा डेक नेपालका कार्यक्रम प्रमुख जीवन गिरीले प्रस्तुतिकरण गरेका थिए । उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् सांसद बादशाह कुर्मी, जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लगायतले अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अधिकार संरक्षण र संबद्र्धनका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । नेपाल परिवार नियोजन संघ बाँकेका सदस्य एवम् कानुनी विज्ञ अधिबक्ता इश्वरीप्रसाद ज्ञवालीले स्वगत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन पत्रकार ओबिराज आचार्यले गरेका थिए । 

अपांगता भएका व्यक्तिले पनि अपांगता नभएका मानिसहरू जस्तै आफ्नो शरीर, यौन सम्बन्ध, यौनिकता र यौन स्वास्थ्यका बारेमा जानकारी प्राप्त गर्ने र आवश्यकता अनुसार गुणस्तरीय सेवा लिन पाउने अधिकार संविधान तथा अन्य नीतिगत तथा कानुनीरुपमा सुरक्षित रहेकाले त्यसको पैरबी र व्यबहारिक कार्यान्वयनका लागि अन्तरक्रिया गरिएको नेपाल परिवार नियोजन संघ बाँकेका शाखा प्रबन्धक रश्मी श्रेष्ठले बताइन् ।

प्रतिक्रिया