नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१६, जैसपुरका जावेद अहमदले माटाका भाँडा बनाउने परम्परागत पेसामा नयाँ प्रविधिको प्रयोग गरेर उदाहरणीय सफलता हासिल गरेका छन् ।
परम्परागत रूपमा हातले माटाका भाँडा बनाउने काम धेरै मेहनत र समय खर्चिलो हुने समस्या समाधान गर्न उनले आधुनिक उपकरणको सहारा लिएका हुन् । जावेदका अनुसार माटाका भाँडा हातले बनाउँदा धेरै फुटेर खेर जाने तथा माग अनुसारको उत्पादन गर्न नसकिने समस्या रहेकोले आधुनिक प्रविधिको प्रयोग गरेर कम समयमा धेरै भाडा बनाउनुका साथै गुणस्तरीय उत्पादन पनि हुन थालेको छ ।
हाल उनलाई कम समयमै धेरै उत्पादन गर्न सक्षम बनाएको छ । उनले बनाउने माटाका भाँडामा विभिन्न प्रकारका कुल्लढ र गिलास मुख्य छन् । ती भाँडालाई चिया, लस्सी र दही खान प्रयोग गरिन्छ । यी भाँडाहरू दाङ, कोहलपुर र नेपालगञ्जका विभिन्न स्थानमा थोकमा बिव्रmी हुने गरेको उनले बताए ।
जावेदको व्यवसायले नेपालगञ्जको स्थानीय बजारमा कुमाल समुदायका लागि नयाँ सम्भावना र अवसरको ढोका खोलिदिएको छ । माटाका भाँडाको माग बढ्दै गएकाले उनीहरूको उत्पादन र व्यापार दुवैमा वृद्धि भएको छ ।
उनका अनुसार विद्युत्को सहायताले चल्ने मेसिनले भाँडा बनाउन लाग्ने समय पनि निकै घटाइदिएको छ । पहिले तीन दिन लाग्ने काम अब एक दिनमै सकिन्छ । मेसिनको प्रयोगले उत्पादनमा मात्र होइन, कामदारको थकान कम गर्ने र कामलाई अझै प्रभावकारी बनाउने अवसर पनि दिएको छ ।
नेपालगञ्ज क्षेत्रमा कुमाल समुदायको बसोबास रहेको छ, जसले परम्परागत शैलीमा माटाका भाँडाको निर्माण गर्दै आएका छन् । यो समुदायको जीविकोपार्जन माटाका भाँडाको उत्पादन र व्यापारमा आधारित छ । परम्परागत शैलीमा उत्पादन गर्दा धेरै समय लाग्ने र परिश्रमको कारणले उनीहरूको जीवनस्तरमा विशेष परिवर्तन आउन सकेको थिएन । यद्यपि जावेद अहमद जस्ता उद्यमीले नयाँ प्रविधिको प्रयोग गरेर माटाका भाँडाको उत्पादनमा सुधार गरेका छन्, जसले कुमाल समुदायको पेसालाई नयाँ रूप दिने विश्वास गरिएको छ ।
कुमाल समुदायको जीवनस्तर उकास्न र माटाका भाँडाको उत्पादनलाई अझ व्यापक बनाउन स्थानीय सरकारले यस्ता मेसिन खरिद गरेर कुमाल समुदायलाई वितरण गर्नुपर्ने सो समुदायका अगुवाको माग छ ।
नेपालगञ्ज–८ का स्थानीय कुमाल सलिम शेषले मेसिनको प्रयोगले माटोको परम्परागत उपयोगमा नयाँ आयाम थप्ने देखिएकाले यसको प्रवर्धन गर्नुपर्ने बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार