Listen LIVE

दशैं नजिकिएसँगै नेपालगञ्जमा दुर्गा मूर्ति बनाउन भ्याइनभ्याई

नेपालगञ्ज : हिन्दुहरूको महान् पर्व दशैं–तिहार नजिकिँदै गर्दा तराईका जिल्लामा दुर्गा र लक्ष्मीको मूर्ति बनाउने मूर्तीकारहरुलाई भ्याइनभ्याई छ । माटोबाट निर्मित अस्थायी मूर्तिमा दसैँको घटस्थापना र तिहारको लक्ष्मीपूजाको दिन पूजाआजा गरिन्छ । कुनै बेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मूर्ति अहिले यहीँका कालीगढले नै बनाउन थालेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–७ फुल्टेक्रा निवासी मूर्तिकार सञ्जय कश्यपलाई दुर्गा भवानीका मूर्ति बनाउन भ्याइनभ्याई छ । घर नजिकैको खाली जमिनमा अस्थायी टहरा निर्माण गरेर कश्यपले मूर्ति बनाउने काम गर्दै आएका छन् । घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मूर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला उनलाई दिनरात काम गर्नुपर्ने अवस्था छ ।

नेपालगञ्ज ११ रानीतलाउ निवासी सन्दीपकुमार वंशकारको दैनिकी माटोसँगै बित्छ । दिनरात उनी माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त छन् । सानै उमेरदेखि मूर्ति बनाउने काम गर्दै आएका सन्दीपको यो पुर्ख्यौली पेशा पनि हो । पहिला घरमा सानो–सानो मूर्ति बनाउने सन्दीप हिजोआज भने ठूल्ठूला दुर्गा माता लगायत सबै प्रकारको मूर्ति बनाउन पोख्त छन् ।

बाँकेको नेपालगञ्ज र जानकी गाउँपालिकाका आधा दर्जन ठाउँमा दुई सय बढी मूर्ति बनाउने गरिएको मूर्तिकारहरू बताउँछन् । नवरात्रको बेला मूर्ति बनाउने र विक्री वितरण गर्ने सिजन हो । पराल, बाँस, माटो, काठ, किल्ला, डोरी मूर्ति बनाउन चाहिने आवश्यक सामान हुन् । मेहनत पनि धेरै छ । एउटा मूर्ति १५ देखि ९० हजार रुपैयाँसम्ममा बेच्ने गरेको मूर्तिकार अंकित मिश्रा बताउँछन् ।

दशैँको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफैँ बनाएर बिक्री गर्ने गरिएको मूर्तिकारहरू बताउँछन् । कुनै बेला भारतीय सीमावर्ती क्षेत्रबाट खरिद गरेर ल्याइने मूर्ति अहिले यहीँका कालीगढले प्रशस्तै बनाउने गरेका छन् । तर, मूर्ति सजावटका सामग्री पारीबाटै ल्याउनुपर्ने बाध्यता रहेको मूर्तिकार रविन्द्र वंशीधरको भनाई छ ।

सदरमुकाम नेपालगञ्जसहित कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दशैँको भोलीपल्ट दुर्गा झाँकी निकाल्ने चलन रहेकाले पनि मूर्तिको माग बढ्दै गएको पाइएको छ । दशैँको नवरात्रमा ठाउँ ठाउँमा दुर्गा भवानीको मूर्ति राखेर पूजाआजा गर्ने परम्परा संस्कृतिको रुपमा विकास हुँदै गएको छ ।

प्रतिक्रिया