नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा पछिल्ला केही समयदेखि निरन्तर बढ्दै गएको प्रशासनिक अराजकता, अपारदर्शिता, ढिलासुस्ती र कर्मचारीतन्त्रको मनपरी व्यवहारविरुद्ध स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले आज आइतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन् ।
ज्ञापन–पत्रमार्फत जेनजीहरूले गाउँपालिकाले प्रदान गर्ने विकास, प्रशासनिक सेवा तथा सामाजिक क्षेत्रका गतिविधिमा विगतदेखि देखिँदै आएको अस्वाभाविक ढिलाइ, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट दुरुपयोग र कर्मचारीबीचको अनावश्यक विवादले स्थानीयवासी अत्यन्तै निराश बनेको उल्लेख गरेका छन् ।
विशेषतः गाडी भाडा, इन्धन कुपन, मर्मत खर्च, खाजा–नास्ता तथा जिन्सी सामग्री वितरणमा मनपरी चलखेल भएको आरोप ज्ञापन–पत्रमा स्पष्टरुपमा उल्लेख गरिएको छ । स्थायी कर्मचारीलाई जिम्मेवारीविहीन राखेर अनावश्यक करार नियुक्ति गरिएको, आफन्त र परिचितलाई प्राथमिकता दिइएको तथा केही कर्मचारीले कार्यालय समय र मर्यादाको ख्याल नगरी जनसेवाप्रति उदासीनता देखाएको विषय पनि प्रमुखरूपमा उठाइएको छ ।
स्थानीय सरकार नागरिकसमक्ष नैतिक, पारदर्शी र जबाफदेही हुनुपर्नेमा हाल देखिएको व्यवहारले सुशासनको आधारभूत सिद्धान्त नै कमजोर भएको नागरिक समाजको भनाइ छ । उनीहरूले गाउँपालिकाभित्र यति धेरै अराजकता बढ्नुमा प्रशासनिक नेतृत्वको उदासीनता र कमजोर नियमन मुख्य कारण रहेको टिप्पणी गरेका छन् ।
शिक्षा क्षेत्रमा देखिएको अव्यवस्था, विषयगत शिक्षक अभाव, विद्यालय व्यवस्थापन समिति नबन्नु, शिक्षकहरूले सामाजिक सञ्जालमार्फत अनावश्यक राजनीतिकरण गर्नु तथा विद्यार्थीलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरिनुजस्ता घटनाले अभिभावक झनै आक्रोशित बनेका छन् । विद्यालयको अनुगमन, निरीक्षण र मूल्याङ्कन प्रणाली कमजोर हुँदा शिक्षामा गुणस्तरसम्बन्धी गम्भीर चुनौती देखिएको उनीहरूको धारणा छ ।
ज्ञापन–पत्र बुझाउँदै नागरिक समाजका अगुवा गुफरान अली शाहले भने,“हामी कसैविरुद्ध द्वेष राखेर होइन, नरैनापुरमा सुशासन, पारदर्शिता र उत्तरदायी प्रशासन कायम गर्न दबाब दिँदैछौँ । पालिकाको वर्तमान अभ्यासले जनविश्वासमा ठुलो चोट पुगेको छ ।”
ज्ञापन–पत्रमा समेटिएका समस्याहरू तत्काल समाधान नभए यही मङ्सिर २४ र २५ गते गाउँपालिका परिसर अगाडि कालो पट्टीसहित २ घण्टा शान्तिपूर्ण धर्ना दिने कार्यक्रमसमेत घोषणा गरिएको छ । तोकिएको म्यादभित्र माग सम्बोधन नभए मङ्सिर २६ गतेदेखि गाउँपालिका र वडा कार्यालयहरूलाई कब्जा गर्ने चेतावनी पनि दिइएको छ ।
नागरिक समाजका प्रतिनिधिहरूका अनुसार, यस ज्ञापन–पत्रले नरैनापुर गाउँपालिकाको सुशासन, पारदर्शिता, उत्तरदायित्व र सेवा–प्रवाह सुधारको लागि आवश्यक कदम चाल्न प्रशासनलाई कानुनसम्मत र नैतिक दबाब दिने उद्देश्य राखेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलीले ज्ञापन पत्र बुझ्दै जेन्जी पुस्ताले उठाएका माग नागरिक मैत्री भएको बताउँदै उक्त मागमध्ये केही मागहरू पहिला नै सम्बोधन भईसके पनि सूचनाको पहुँचका कारण जानकारी नभएको हुन सक्ने बताउँदै आफ्नोस्तरबाट हुने माग तत्काल सम्बोधन गर्ने र बाँकी कार्यपालिकाको बैठक बोलाएर तत्काल सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आन्दोलन गरे पनि सेवा प्रवाहमा अवरोध नगर्न आग्रह गरे ।
ज्ञापन पत्र बुझ्ने क्रममा सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री कृष्ण केसी नमूना गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्ष अजय मिश्रा, प्रेम मौर्य लगायतको सहभागिता रहेको थियो । ज्ञापन पत्र प्रधानमन्त्री, गृहमन्त्री, सामान्य प्रशासनमन्त्री, शिक्षामन्त्री र लुम्बिनी प्रदेशका मुख्य मन्त्रीलाई समेत बोधार्थकोरुपमा पठाइएको जेनजी युवाहरूले बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार