Listen LIVE

रमजान पर्व आजदेखि शुरु, विभिन्न व्यक्तित्वद्वारा शुभकामना

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको रमजान पर्व आजदेखि शुरु भएको छ । पर्वका अवसरमा विभिन्न व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका छन् । पश्चिम नेपालको सबैभन्दा ठूलो मुस्लिम धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले इस्लाम धर्मावलम्बीहरूको आजदेखि सुरु भएको रमजान पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले शुभकामना सन्देशमा रमजानले आपसी सहिष्णुता, आत्मियता, धार्मिक तथा सांस्कृतिक सद्भाव र भातृत्वलाई प्रवद्र्धन गर्ने उल्लेख गरेका छन्।

यसैगरी, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले पनि शुभकामना सन्देश जारी गर्दै नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय विविधतायुक्त मुलुक भएको उल्लेख गरे। उनले संविधानले सबै धर्म, संस्कृति, भाषा र सम्प्रदायको समान अस्तित्व स्वीकार गरेको बताए।

उनले रमजान पर्वले नेपालको धार्मिक विविधतालाई अझ मजबुत बनाउने उल्लेख गर्दै मुस्लिम समुदायलाई भव्य रूपमा मनाउन अपिल गरेका छन्।

इस्लाम दर्शनअनुसार रमजान महिनाभर रोजा (व्रत) बस्ने गरिन्छ। यस पर्वले मानिसलाई सत्मार्गमा डोर्याउने, संयम, सहनशीलता, परोपकार र सदाचारको अभ्यास गर्न प्रेरित गर्ने विश्वास गरिन्छ।

प्रतिक्रिया