Listen LIVE

२२ जना फरार प्रतिवादी पक्राउ

प्युठान : जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले अभियान सञ्चालन गरेर वर्षौंदेखि फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले ८५ जना फरार प्रतिवादीमध्ये २२ जनालाई पक्राउ गर्न सफल भएको बताए । उनले जबरजस्ती करणीमा सबैभन्दा बढी १३ जना, सवारी ज्यानमा ३ जना, बैङ्किङ कसुरमा २ जना र बहुविवाह, कुटपिट, गालीबेइज्जती, सार्वजनिक अपराधमा फरार १।१ जना पक्राउ परेको बताए ।

उक्त पक्राउ परेका व्यक्तिबाट ६ वर्ष ३ महिना ११ दिन कैद असुल र १० लाख पच्चीस हजार रुपियाँ जरिवाना असुल भएको प्रहरी प्रमुख बस्यालले जानकारी दिए। पक्राउ पर्नेहरूमा २० वर्ष अगाडिका समेत रहेको उनले बताए ।

प्रहरीले पछिल्लो समय सामुदायिक सचेतनाका कार्यक्रमलाई गाउँगाउमा पुगेर सञ्चालन गरेको जनाएको छ । नागरिक सुनुवाइदेखि विभिन्न अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने गरेको प्रहरी प्रमुख बस्यालले बताए ।

प्रतिक्रिया