Listen LIVE

विद्यालयमा पूर्वसूचना प्रणाली जडान

नेपालगञ्ज : बर्दियाको गुलरिया नगरपालिका–१२ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र भैसाही गाउँलाई बाढीबाट जोगाउन नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बाढी पूर्वसूचना प्रणाली जडान गरिएको छ । गुलरिया नगरपालिकाको १२ वटा वडामध्ये सबैभन्दा जोखिममा रहेको भैसाही गाउँलाई बबई नदीमा आउने बाढीबाट सुरक्षित गर्न बाढी पूर्वसूचना प्रणाली जडान गरिएको हो । 

भैसाहीलगायत गुलरिया नगरपालिकाका–४ स्थित बेचेपुर गाउँ र गुलरिया नगरपालिका–६ स्थित खानेपानी ट्याङ्कीमाथि बाढी पूर्वसूचना प्रणाली जडान भएका छन् । 

बबई नदीमा प्रत्येक वर्ष आउने बाढीले गुलरिया नगरपालिकाको नौ वटा वडामा क्षति पुर्याउने गरेको छ । गुलरिया नगरपालिका विपत् व्यवस्थापन शाखाका प्रमुख मुकुन्द अर्यालले बाढी पूर्वसूचना प्रणाली जडानले नदीमा बाढी आउँदा त्यस क्षेत्रका मानिसको सुरक्षा दिनमा मदत पुग्ने बताए । 

विद्यालयका प्रधानाध्यापक राजु थारूले जडान गरिएको बाढी पूर्वसूचना प्रणालीले गाउँ र विद्यालयमा अध्ययनरत रहेका बालबालिकालाई बाढीबाट बचाउन सहयोग पुग्ने बताए । 

बबई नदीमा आउने बाढीले प्रत्येक वर्ष गुलरिया नगरपालिकाको धेरै वडालाई प्रभावित पार्ने गर्दछ । नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत हरि केसीले नगरपालिकाका तीन क्षेत्रमा अटोमेटिक साइरन जडित प्रविधिसहितको बाढी पूर्वसूचना जडान गरिएको बताए । 

गुलरियामा जडान गरिएको साइरन नेपाल सरकारको बाढी पूर्वसूचना प्रणालीसँग कनेक्ट गरिएको छ । गुलरिया नगरपालिकाका कर्मचारी सुरज सुवेदीले नदीमा पानीको बहाब बढेपछि पूर्वसूचना दिनका लागि साइरन बजाउने गरिएको बताए । 

बर्दिया जिल्लाको बबई नदीमा आउने बाढीको पूर्वसूचना दिन बबईस्थित चेपाङ र घुइयाबारी गेजसहितको सूचना प्रणली र कर्णाली नदीमा आउने बाढीको सूचना दिन चिसापानीमा बाढी पूर्वसूचना प्रणाली जडान भएका छन् । जसले नदीमा पानीको बहाब बढेको जानकारी दिने र सबै स्थानका सूचना प्रणालीमार्फत सर्वसाधारणलाई जानकारी गराइन्छ । २०७१ र २०७४ सालमा बबई नदीमा आएको बाढीले ठुलो धनजनको क्षति भएको थियो ।

प्रतिक्रिया