नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा बिरामीको चाप बर्षेनि बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरिएको छ । तर, बजेट भने घट्दै गएको छ । आर्थिक वर्ष २०८१–०८२ मा मात्रै २ लाख बढीले ओपिडी सेवा लिएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बर्षेनि अस्पतालमा बिरामीको चाप बढ्दै गएको बताए ।
उनले भने–‘आर्थिक वर्ष २०८१–०८२ मा २ लाख २१ हजार ५०२ जनाले ओपिडी सेवा लिएका छन् । यो अघिल्लो आर्थिक वर्ष २०८०–०८१ भन्दा २२ हजार २०३ ले बढी हो । आर्थिक वर्ष २०८०–०८१ मा १ लाख ९९ हजार १७२ जनाले ओपिडी सेवा लिएका थिए भने आर्थिक वर्ष २०७९–०८० मा १ लाख ६५ हजार ६८३ जनाले ओपिडी सेवा लिएका थिए ।
‘बर्षेनि बिरामीको चाप बढ्दै गए पनि सङ्घीय सरकारबाट प्राप्त हुने बजेट घट्दै गएको छ,’ अस्पतालको चुनौतीबारे उनले अगाडि भने–‘यसले सेवाग्राहीलाई दिनुपर्ने सेवा प्रवाहमै असर गरिरहेको छ ।’ आर्थिक वर्ष २०७९–०८० मा सङ्घीय सरकारले भेरी अस्पताललाई १९ करोड बजेट विनियोजन गरेको थियो भने २०८०–०८१ मा १३ करोड कटौती गर्दै केवल ६ करोड मात्रै बजेट पठाएको थियो । आर्थिक वर्षमा ०८१–०८२ मा त झन् ५ करोडमा सीमित बनेको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताए ।
अस्पतालले पछिल्लो एक वर्षमा ३ हजार ७ सय ८८ जनाको शल्यक्रिया गरेको जनाएको छ । मेजर शल्यक्रिया मात्रै २ हजार ८ सय ६० वटा गरिएका छन् भने माइनर शल्यक्रिया ५ सय ८६ र मध्यम शल्यक्रिया ३ सय ४२ वटा गरिएका छन् । भेरी अस्पतालले सोमबार मात्रै आफ्नो १३५औँ वार्षिकोत्सव मनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार