Listen LIVE

नेपालगञ्ज नाका भएर रोजगारीका लागि भारत जाने बढे

नेपालगञ्ज : रोजगारीका लागि नेपालगञ्जस्थित जमुनाहा नाका भएर भारत छिर्ने नेपाली युवाको सङ्ख्या फेरि एक पटक बढ्दै गएको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका युवा अहिले फेरि ठुलो सङ्ख्यामा दैनिक रोजगारीका लागि जमुनाहा नाका भएर भारततर्फ गइरहेको यहाँस्थित नेपाल–भारत नाकामा रहेको जमुनाहा प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले केही दिनयता आएर फेरि रोजगारीको सिलसिलामा भारत जाने नेपालीको सङ्ख्या बढ्दै गएको बताए । उनले अहिले दैनिक पाँचदेखि सात सयसम्म नेपाली कामका लागि भारततर्फ गइरहेको बताए । पहाडी जिल्लामा खेती सकिएको र खेती सकिएपछि काम नभएकाले रोजगारीका लागि भारतका विभिन्न स्थानमा गइरहेको नाकामा भेटिएका नेपाली युवाको भनाइ छ । 

सल्यान श्रीनगरका राजेश थापाले भारतको सिमलालगायतका ठाउँमा स्याउ पाकेकाले स्याउ टिप्न र ओसारपसार गर्न धेरै नेपाली युवा सोतर्फ गइरहेको बताए । उनले देशमा रोजगारी नभएपछि बाध्य भएर अर्काको देशमा गएर श्रम गर्नु परेको दुःखेसो गरे । भारत जान नाकामा पुगेका अधिकांश नेपालीले हिमाञ्चल प्रदेशको सिमला जान लागेको बताउने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । 

भारत काम गर्न जानेमा अधिकांश २० देखि २५ वर्षको सेरोफेरोकै युवा नै रहेका छन् । आफ्नै देशमा राम्रो रोजगारीको व्यवस्था नहुञ्जेलसम्म कामका लागि बाध्य भएर भारत जानुको विकल्प नरहेको अधिकांशको भनाइ छ । अहिले भारत जानेमध्ये केही दसैँ र तिहारमा फर्किने तथा अधिकांश होलीमा फर्किने नाकामा भेटिएकाहरू बताउँछन् । जाजरकोट पाँचकटियाका गोर्खबहादुर सिंहले आफूहरू अब दसैँ मनाउन फर्किने बताए ।

प्रतिक्रिया