Listen LIVE

बाँकेका तीन स्थानीय तहले गरे विद्यालय बिदा

नेपालगञ्ज : हुस्सु र शीतलहरले नेपालगञ्जको जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बिदा दिने निर्णय गरेका छन् ।

चिसोकै कारण कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखाले विद्यालयको पठनपाठन दुई दिन बन्द गर्ने निर्णय गरेको हो । शिक्षा शाखाका अनुसार प्राप्त सुझावका आधारमा पुस ९ र ११ गते कोहलपुर नगरभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन बन्द रहनेछ ।

खजुरा गाउँपालिका शिक्षा समितिको बैठकले पुस ९ र ११ गते बिदा दिने निर्णय गरेको हो । यसबीच पुस १० गते ख्रिष्टमस र १२ गते शनिबार परेकाले दुई दिनको बिदाले चार दिनसम्म विद्यालय बन्द हुनेछन् ।

शीतलहरसँगै बढेको जाडोका कारण आवतजावतमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न सक्ने कुरालाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत खगेन्द्र मल्लले बताए ।

यता नेपालगञ्ज उपमहानगरपालिकाले भने पुस ११ गतेदेखि १४ गतेसम्म विद्यालय बिदा दिने निर्णय गरेको छ । शीतलहर चलेसँगै अत्यधिक चिसो बढेपछि र नेपालगञ्ज रनिङ शिल्ड प्रतियोगिता पनि सञ्चालन हुने भएकाले शुक्रबारदेखि जाडो बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया