दैलेख : बालविवाहसम्बन्धी भएका कानुन कडाइका साथ कार्यान्वयन गर्न यहाँका सरोकारवाला निकायले माग गरेका छन् । महिला कानुन र विकास मञ्चले आयोजना गरेको बालविवाह र यौन दुव्र्यवहारसम्बन्धी सरोकारवाला निकायसँग छलफलमा बोल्ने अधिकांश सहभागीले कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरेका हुन् ।
सहभागीले कानुन सबैका लागि बराबर भए पनि धनी वर्गलाई नलाग्ने र आर्थिक अवस्था कमजोर भएका मान्छेलाई मात्र कानुनी सजाय भोग्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनका सभापति अभिषेक अनुरागले समाजमा बालविवाह र यौन दुव्र्यवहारसम्बन्धी कुरामा समाजमा वर्गीय विभेद रहेको बताए । उनले धनीका छोराछोरीले बालविवाह गर्दा कानुन नलाग्ने तर गरिबका छोराछोरीले बालविवाह गर्दा कानुन लाग्ने गरेको आरोप लगाए । उनले राज्यले नै १६ वर्षको उमेरमा नागरिकता दिने, १८ वर्ष पुग्दा मतदान गर्न पाइने र विवाह गर्दा २० वर्ष पुग्नुपर्ने कानुनलाई समेत संशोधन गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घ दैलेख अध्यक्ष यज्ञराज थापाले बालविवाह र यौन दुव्र्यवहार रोकथामका लागि स्थानीय सरकार जिम्मेवार बन्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयका हवलदार देवेन्द्र पोखरेलले बालविवाह न्यूनीकरणका लागि अभिभावक जिम्मेवार बन्नुपर्ने बताए । उनले अभिभावकै मिलेमतोमा बालविवाह गर्ने र पछि बहुविवाह गरेपछि मुद्दा दिन आउने गरेको जनाए । बालविवाहको उजुरी दर्ता गरेको खण्डमा जिल्ला अदालतले समेत अभिभावकको जिम्मेवारीमा बुझाउने गरेको र पछि पुनः विवाह गर्ने समस्या रहेको बताए । अघिल्लो आर्थिक वर्षमा एउटा पनि बालविवाहविरुद्ध उजुरी परेको छैन । बालबालिकाले पछिल्लो समय सामाजिक सञ्जालमा जोडिने र त्यहीँबाट भाग्ने गरेको पोखरेलको भनाइ छ । नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापाले बालविवाह र यौन दुव्र्यवहारको अन्त्यका लागि नगरपालिकाबाट विभिन्न कार्यक्रम सञ्चालन गरेको बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार