Listen LIVE

गोली प्रहारबाट बर्दियामा एक जना घाइते

नेपालगञ्ज : बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका–८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक (फरेष्टरले) गोली हानेको बताएका छन् ।

ढाडमा गोलीका छर्रा लागेर घाइते भएका लोधलाई उनका आफन्तले आइतबार बेलुका ७ बजेतिर उपचारका लागि गुलरिया अस्पताल पुर्याएका थिए । अस्पताल लगिएपछि मात्रै प्रहरीलाई घटनाबारे थाहा भएको डिएसपी मगरले बताए ।

लोधलाई गोली लागेको सूचनापछि प्रहरीले अस्पताल पुगेर घटनाबारे बुझेको थियो ।

घाइते लोधलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्जमा भर्ना गरिएको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको डिएसपी मगरले जानकारी दिए ।

गुलरिया– ८ स्थित नेपाल–भारत सीमानाका क्षेत्रमा आफ्नो खेतमा काम गरिरहेको समयमा एकाएक भारतीय फरेष्टरले गोली प्रहार गरेको कुरा लोधले गरेको हुँदा त्यसबारे भारतीय सुरक्षाकर्मीसँग जानकारी लिने काम भइरहेको बर्दियाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए ।

प्रतिक्रिया