Listen LIVE

गाई काट्नेमाथि तत्काल कारबाहीको माग

नेपालगञ्ज : दैनिकरुपमा राष्ट्रिय जनावर गाई काटिने कार्य हुन थालेपछि राप्रपा नेपालका नेपालगञ्ज अध्यक्ष हुकुम केसीसहितको टोलीले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय जनावर तथा हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको गाईलाई बाँकेका विभिन्न स्थानमा काट्ने, तस्करी गर्ने लगायत कार्य तत्काल रोक्न तथा यस कार्यमा संलग्नहरुलाई कडाभन्दा कडा कानुनी कारवाही गर्न ज्ञापनपत्रमा माग गरिएको नगर अध्यक्ष केसीले बताएका छन् ।

राप्रपा नगर अध्यक्ष केसीले पटक–पटक प्रशासनलाई गुहार गरिए पनि अब उप्रान्त त्यसतर्फ सम्बन्धित पक्षको ध्यान केन्द्रित नभएको अवस्थामा हामी आफै कानून हातमा लिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

अध्यक्ष केसीको टोलीद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको ज्ञापनपत्रमा ‘नेपालको संविधान तथा प्रचलित कानुनले राष्ट्रिय जनावर गाईलाई संरक्षण गर्ने स्पष्ट व्यवस्था गरेको सर्वविदितै छ । गाई नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय पहिचानसँग गहिरो रूपमा जोडिएको पवित्र जनावर हो ।’ भनी उल्लेख गरिएको छ ।

‘तर पछिल्लो समय हाम्रो जिल्ला तथा आसपासका क्षेत्रमा गाईको अवैध मारकाट, तस्करी तथा दुरुपयोगका घटनाहरू बढ्दै गएको खबरले हामी सम्पूर्ण नागरिक अत्यन्तै दुःखी, चिन्तित र आक्रोशित भएका छौं । यस्तो कार्यले कानुनको ठाडो उल्लंघन मात्र होइन, सामाजिक सद्भाव, धार्मिक आस्था तथा राष्ट्रिय भावनामाथि गम्भीर आघात पुर्याइरहेको छ’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

गाई काट्नुका साथै तस्करीमा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरियोस् भनी ज्ञापन पत्रमा लेखिएको छ ।

हामीलाई पूर्ण विश्वास छ कि जिल्ला प्रशासन कार्यालयले यस गम्भीर विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक कदम चाल्ने छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिक्रिया