Listen LIVE

इलाका प्रशासन कार्यालयबाट नागरिकता लिनेको संख्या बढ्दै

नरैनापुर (बाँके) : इलाका प्रशासन कार्यालय नरैनापुरबाट १ हजार १ सय ५१ जनाले नागरिकता लिएका छन् । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापना भएको नौ महिनामा १ हजार १ सय ५१ जनाले नागरिकता बनाएका हुन् । 

गाउँपालिकामै इलाका प्रशासन कार्यालय स्थापना भएपछि सानोतिनो प्रशासनिक कामका लागि ४५ किलोमिटर टाढा नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । 

इलाका प्रशासन कार्यालय नरैनापुरका प्रमुख माधव सिंहले भने, इलाका प्रशासन कार्यालय गत साउन ४ गते स्थापना भएको थियो । उनले इलाका प्रशासन स्थापना भएदेखि चैत्रसम्म वंशज नागरिकता ८ सय, वैवाहिक अङ्गीकृत नागरिकता २ सय ७०, जन्मका आधारमा वंशज २१ वटा र नागरिकता प्रतिलिपि ६० जनालाई वितरण गरिएको जानकारी दिए । बिद्युत् नियमित नहुँदा नागरिकता वितरणमा समस्या आउने गरेको बताउँदै उनले भने, ‘पालिकासँग जेनरेटरको व्यवस्था गरिदिन माग गरेको छु ।’

‘आफ्नै पालिकाबाट नागरिकता पाउँदा निकै नै खुसी लागेको छ ।’ बाँकेको नरैनापुर वडा नं ४ का १८ वर्षीय मोहम्मद हासिल खाँले भने,‘पहिला नागरिकता बनाउन नेपालगञ्ज जानुपथ्र्यो । जानआउन र नास्तापानीमै खर्च हुन्थ्यो । तर, अब आफ्नै पालिकामा नागरिकता बनी रहेकोले हाम्रो त खर्च नै नहुने भयो ।’ 

नरैनापुर २ रोशन पुर्वाका आरिफ खाँले इलाका प्रशासन स्थापनाले जनतालाई ठूलो राहत भएको बताउँदै पहिला नागरिकता बनाउन नेपालगञ्ज जाँदा दैनिक दुई हजार रुपैयाँ खर्च हुने गरेको थियो तर अहिले यही नागरिकता बन्न सुरु भएदेखि पैसा र समयको बचत भएको बताए ।

विसं २०४७ मा स्थापना भएको उक्त इलाका प्रशासन तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको थियो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले लामो सङ्घर्षपछि नेपालगञ्जबाट पूर्वमा पर्ने दुर्गम क्षेत्रका रूपमा चिनिएको नरैनापुर गाउँपालिकाका सेवाग्राहीलाई नेपालगञ्ज धाउनुपर्ने समस्या अन्त्य भएको बताए ।

उनले भने,‘इलाका प्रशासन कार्यालयबाट हुने काम कारबाहीलाई केन्द्रीय सरकारको प्रत्यक्षरूपमा उपस्थिति रहेको मैले महसुस गरेको छु”, ‘गाउँगाउँमा सिंहदरबार भनेको यही हो । जनताले पाउनुपर्ने सबैखाले सुविधा पाउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध भएको यो एउटा उदाहरण पनि हो ।’ उनले गाउँपालिकाको भवन बन्ने बित्तिकै इलाका प्रशासन कार्यालयलाई सोही भवनमा राख्ने र आवश्यक उपकरणहरू व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिएको बताए । 

३४ हजार नौ सय ४२ जनसङ्ख्या रहेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासन स्थापना भएपछि नागरिकहरूलाई ठूलो राहतको अनुभूति भएको छ । नागरिकता वितरण निर्देशिका, २०६३ नेपाल नागरिकता ऐन, २०६३ तथा नेपाल नागरिकता नियमावली, २०६३ समेतको प्रक्रिया पुर्याइ वंशजका आधारमा नागरिकता वितरण गर्ने काम इलाका प्रशासन कार्यालयले गर्दै आएको छ ।

प्रतिक्रिया