नेपालगञ्ज : लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले बाँके र बर्दियाबाट ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–१२ बाट प्रतिवन्धित औषधिसहित दुई जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ गाइडरका १८ वर्षीय किशोर, २५ वर्षीय नारायण खड्का र १९ वर्षीय सुरेन्द्र वली रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ट्रामाडोल १४ ट्याब्लेट र नाइट्राजेपाम १८ ट्याब्लेटसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लु प्र०–००१ प ४१३९ नम्बरको स्कुटर र बा ७६ प ७२० नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट ९ ग्राम २० मिलिग्राम ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका–३ लखना बस्ने ३१ वर्षीय शिवप्रसाद थारू, ३० वर्षीया प्रतिभा थारू र ३१ वर्षीया रामरती थारू रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
उनीहरुलाई प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुविरुद्ध सम्बन्धित प्रहरी कार्यालयले म्याद थप गरेर आबश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार