Listen LIVE

चितुवा नियन्त्रणमा लिन ५ ठाउँमा क्यामेरा जडान

बर्दिया : बुधबार बिहान गुलरिया नगरपालिका–५ बालापुरकी ५ वर्षीया बालिका सायरा थारुलाई चितुवाको आक्रमणमा मृत्यु भएपछि घटनास्थल वरिपरी ५ वटा क्यामेरा ट्रयाप राखिएको छ । 

बालापुरको सामूदायिक वन आसपासमा क्यामेरा जडान गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाको संयुक्त टोलीले क्यामेरासँगै मचान निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालय, बर्दियाले दुईवटा क्रेजमा बाख्रा राखेर चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाएको छ । निकुञ्जबाट दुई वटा हात्ती परिचालन गरी चितुवाको खोजीमा लागेको राष्ट्रिय प्रकृति कोषका प्रमुख अजित तुम्फा हाम्फेले बताए ।

चितुवालाई डाट गरी नियन्त्रणमा लिने प्रयासमा जुटेको उनले जनाए । दुई जना पशु चिकित्सक डाक्टर विकल्प कार्कीसहित निकुञ्जको चार जना प्राविधिक र दुईवटा हात्ती परिचालन गरिएको छ ।

चितुवाको त्रासले गुलरिया वडा नम्बर ५ र ८ का बासिन्दा त्रसिद भएको बडघर कालीबहादुर चौधरीले बताए । दिउँसै मानिसको ज्यान लिने चितुवाका कारण साना बालबालिका विद्यालय जान त्रसित भएको उनले सुनाए ।

गत बैशाख १५ गते गुलरिया–८ स्थित सयु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको थियो । गत मंसिरयता चितुवाको आक्रमणमा बर्दियामा चार जनाको मृत्यु भइसकेको छ । यसै अवधिमा चितुवाको आक्रमणमा १६ जना घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया