Listen LIVE

ललितपुरमा गोदावरी फुलको प्रतियोगिता शुरु

काठमाण्डौ : फ्लोरिकल्चर एसोसिएसन (फ्यान) को आयोजनामा १७ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ जावलाखेलमा बिहीबारदेखि शुरु भएको छ ।  

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराको साथ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक ११ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुनेछ ।

यस प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल २, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरि जम्मा ७५ वटा प्रदर्शनी कक्षहरू रहने छन् । यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइने छ । 

यस अन्तर्गत प्रदर्शनीमा सहभागी नर्सरी–फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा  मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छ । 

साथै मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराइने छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी–फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ ।

४ दिने यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं.२०५१ सालदेखि लगातार रूपमा पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया