Listen LIVE

कोहलपुरमा यातायातको सेवा विस्तार

कोहलपुर (बाँके) : नागरिकलाई यातायात सम्बन्धी सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले बाँकेको कोहलपुरमा यातायात कार्यालय विस्तार गरिएको छ । कोहलपुरबाट पनि बुधबारदेखि यातायात सम्बन्धी सेवा प्रवाह सुरु भएको हो ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेको थियो । बुधबार उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कोहलपुरमा यातायात सेवा कार्यालयको उदघाटन गरे ।

कार्यालयको उदघाटन गर्दै मन्त्री न्यौपानेले नागरिकलाई यातायात सम्बन्धी सेवा सहज रुपमा प्रदान गर्नका लागि यातायात सेवा कार्यालय विस्तार गरिएको बताए । साथै उनले आवश्यक्ताका आधारमा अन्य जिल्ला तथा स्थानहरुमा समेत यातायात कार्यालय विस्तारको योजना बनाईने समेत बताए । उनले केहि जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालन गर्ने गरि मन्त्रालयले अध्ययन गरिरहेको बताए ।

‘मुलुक संघियतामा गइसकेपछि राज्यका हरेक संयन्त्र वा शक्ति विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा हामी प्रतिवद्ध छौँ,’ मन्त्री न्यौपानेले भने ‘संघियताको यहि मर्म अनुरुप यातायात सम्बन्धी सेवालाई हरेक नागरिकको पहुँच संग जोड्नु पर्छ भन्ने उदश्य सहित यातायात कार्यालयहरुको विस्तार गर्न जरुरी देखेका छौँ, र यो उदेश्य पुरा गर्नका लागि मन्त्रालय लागिपरेको छ ।’ यसैगरी उनले यातायात सम्बन्धी सेवा नागरिक मैत्री हुनुपर्ने भन्दै नागरिकको सहजताका लागि मन्त्रालयले काम गरिरहेको समेत बताए ।

सेवाग्राहीहरुलाई कुनै पनि झन्झट नहोस् भन्नेमा मन्त्रालय गम्भिर रहेको भन्दै यातायात सम्बन्धी सेवालाई प्रविधिमैत्री बनाइने समेत बताए । कोहलपुरमा बुधबार देखि सञ्चालन भएको यातायात सेवा कार्यालयबाट तीन प्रकारका सेवा प्रवाह हुने छन । मन्त्रालयका अनुसार सवारी चालक अनुमती पत्र,सवारी दर्ता किताव नविकरण र पटके सेवा यो सेवा कार्यालयबाट प्रवाह गरिने छ ।

प्रदेश सरकारको कुनै पनि थप आर्थिक दायित्व श्रृजना नहुने गरि यातायात सेवा कार्यालय विस्तार गरिएको मन्त्री न्यौपानेले जानकारी दिए । यो सेवा कार्यालयमा यातायात व्यवस्था कार्यालय नेपालगन्ज कै जनशक्तिबाट सेवा प्रवाह हुने पनि मन्त्री न्यौपानेले जानकारी दिए ।  ‘प्रदेशको कुनै पनि आर्थिक दायित्व श्रृजना नहुने गरि कोहलपुरमा यातायात सेवा कार्याल स्थापना भएको हो,’ मन्त्री न्यौपानेले भने ‘यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट कर्मचारी व्यवस्थापन गरेर सेवा प्रवाह गरिएको छ ।’

कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार भएपछि कोहलपुर तथा त्यस आसपासका क्षेत्रका सेवाग्राहीलाई यातायात सम्बन्धी सेवा लिन सहज भएको छ । यातायात सेवा कार्यालयमा सेवा दिन पुगेका सेवाग्राहीहरुले कोहलपुरमा यातायात सेवा कार्यालय सञ्चालनमा ल्याइदिएर प्रदेश सरकारले आफूहरुलाई धेरै सहजता प्रदान गरेको बताएका थिए ।

प्रतिक्रिया