नेपालगञ्ज : प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा श्रममा आधारित योजनाबाट चालु आर्थिक वर्षमा १२० जनाले रोजगारी पाएका छन् । चालु आवमा कोहलपुर नगरपालिकामा १७ वटा योजना सञ्चालनमा रहेको जनाउँदै नगरपालिकाको रोजगार सेवा केन्द्रका रोजगार संयोजक आशिष वर्माले ती योजनाबाट १२० जनाले रोजगारी पाएको बताए । उनले नेपाल सरकार र युवा रोजगारीका लागि रूपान्तरण पहल (आइडिए) को स्रोतबाट योजना सञ्चालनमा रहेको जनाउँदै कोहलपुर नगरपालिका–१, २, ३, ४, ५, ८, १२, १३ र १५ मा गरी नौ वटा वडामा रोजगार योजना सञ्चालनमा रहेको बताए ।
रोजगारी प्राप्तिका लागि वार्षिक रूपमा बेरोजगारको तथ्याङ्क सूचीकृत गर्ने गरिएको संयोजक वर्माले बताए । उनले भने, “वडा कार्यालयबाटै बेरोजगार सूचीकृतका लागि आवेदन माग गरिएको हुन्छ, त्यसरी सूचीकृत भएकाबाट रोजगारी पाउने व्यक्तिको छनोट गरिन्छ ।” कोहलपुर नगरपालिकामा चालु आवका लागि ३७५ जना सूचीकृत भएका थिए । तीमध्ये १२० जना छनोट भएर रोजगारी पाएका हुन् । नेपाल सरकारको स्रोतबाट ८० जना र आइडिएबाट ४० जनाले रोजगारी प्राप्त गरेको रोजगार सेवा केन्द्रले जनाएको छ ।
रोजगारीका लागि विपन्न, महिला, एकल महिला, दलित, जनजातिलगायतलाई बढी प्राथमिकता दिने गरिएको छ । उनीहरूले रोजगार सेवा अवधिका आधारमा एक जनाले कम्तीमा ३० हजारदेखि ६४ हजारसम्म ज्याला पाउने रोजगार सेवा केन्द्रका प्राविधिक सहायक ललित रेग्मीले बताए । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रधानमन्त्री रोजगार कार्यक्रम कोहलपुरमा अति नै प्रभावकारी देखिए पनि यसको बजेट वृद्धि गरेर यसलाई अझै व्यापक बनाउनुपर्ने बताए । उनले भने, “एकै पटक सबै बेराजगारलाई रोजगारी दिने कुरा सम्भव नहोला तर प्राथमिकताको सूचीका आधारमा आवश्यक परेका बढीभन्दा बढीलाई समेट्दै लग्नु पर्छ ।”
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाउनुभएकी कोहलपुर–२ की माया शाहीले आफ्नै घरआँगनमा निश्चित समयका लागि प्राप्त भएको रोजगारीले पनि घरखर्च चलाउन निकै सहज भएको बताइन् । सो कार्यक्रम अन्तर्गत कोहलुर नगरपालिकाले बेरोजगारलाई काम दिन थालेपछि शाही जस्तै रोजगारी पाएका अधिकांश खुसी छन् । कोहलपुर–१२ का देउरूप वलीले पनि एक सय दिन बराबरको रोजगारीमा छनोट भएर काम गर्दै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार