Listen LIVE

नेपालगञ्जका छाडा कुकुरको बन्ध्याकरण

नेपालगञ्ज : नगरपालिका क्षेत्रभित्र छाडा र भुस्याहा कुुकुरको सङ्ख्या वृद्धि हुँदै गएको भन्दै नेपालगन्ज उपमहानगरले छाडा र भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गर्ने र  रेबिजको खोप लगाउने काम सुरु गरेको छ । 

नेपालगन्ज उमपहानगरपालिकाको आर्थिक विकास समिति र पशु सेवा शाखाको आयोजनामा उपमहानगरका २८१ वटा कुकुरको स्थायी बन्ध्याकरणसंगै रेबिजविरुद्धको खोप लगाइएको उपमहानगरपालिकाले जनाएको छ । 

नेपालगञ्जमा पाँच दिनसम्म सञ्चालन गरिएको कुकुरको स्थायी बन्ध्याकरण शिविरमा छाडा र भुस्याहा कुकुरलाई खोजेर २८१ वटा कुकुरको स्थायी बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइएको पशु सेवा शाखाका पशु चिकित्सक आशिष थारूले बताए । 

उनले छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्नका लागि स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको जानकारी दिए । छाडा कुकुरको सङ्ख्या बढ्दा दुर्घटनाको पनि जोखिम बढेको र मानिसलाई टोक्ने क्रम पनि बढेकाले कुकुरको सङ्ख्या नियन्त्रण गर्न बन्ध्याकरण शिविर राखिएको बताए । 

शिविरमा बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको पशु चिकित्सक थारूले बताए । उनले गत वर्ष पनि शिविर गरेर छाडा कुकुरको स्थायी बन्ध्याकरण गरिएको बताए । 

नेपालगञ्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष गोपालले पुनले उपमहानगरका केही वडामा छाडा कुकुरको आतङ्क नै देखिएकाले स्थानीय त्रासमा रहेको हुँदा कुकुरलाई रेबिजको खोप लगाउनुपर्ने स्थानीयको अत्यधिक दबाब रहेकाले पनि शिविरको आयोजना गरिएको बताए । बन्ध्याकरण शिविरमा पशु शाखा प्रमुख लक्ष्मी शाही, पशु स्वास्थ्य प्राविधिक शिव भुसाललगायतको पनि सहभागिता रहेको थियो । 

नेपालगञ्जको वडा नं. ४, ८ र ११ लगायतमा छाडा कुकुरको सङ्ख्या अत्यधिक रहेकाले ती सबै कुकुरलाई रेबिजको खोप लगाउनु र उनीहरूको सङ्ख्या बढ्न नदिन गम्भीर भएर सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय बासिन्दाले माग राखेका छन् । 

नगरमा बाँदरको समेत आतङ्क बढ्दै गएकाले सो नियन्त्रणतर्फ पनि उपमहानगरले समयमै उचित कदम चाल्नुपर्ने माग स्थानीयको छ ।

प्रतिक्रिया