Listen LIVE

भुक्तानी नपाउँदा पुल निर्माणको काम ठप्प

दाङ : दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा रोकिएको पुल निर्माणको काम अझै अघि बढ्न सकेको छैन । घोराही उपमहानगरपालिका–१६ स्थित २०८० फागुनदेखि सेवारखोलामा चार लेन पुल निर्माणको काम सुरु भए पनि पुलको काम असारमा रोकिएको थियो । बर्सातको समयमा रोकिएको पुल निर्माणको काम निर्माण व्यवसायीले भुक्तानी नपाउँदा अझै सुरु भएको छैन । पुल निर्माणका लागि काम गरेको करिब तीन करोडभन्दा बढी रकम नपाएका कारण चालु आर्थिक वर्षको पाँच महिना समय बित्दासमेत पुल निर्माणको काम सुरु भएको छैन ।

सेवारखोलामा २०८३ जेठ ३० गतेभित्र सक्ने गरी २०८० जेठ ३० मा रायमाझी निर्माण सेवा प्रालि काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले गत आवमा खोलामा एउटा पिल्लरको करिब आधा काम गरेको छ ।

२३ करोड २२ लाख रुपियाँको लागतमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरी काम सुरु भएको थियो तर गत आवमा काम गरेको रकम नपाउँदासम्म काम गर्ने अवस्था नरहेको रायमाझी निर्माण सेवा प्रालि काठमाडौँका प्रोप्राइटर भरतजङ्ग रायमाझीले बताए । 

गत वर्ष पुल निर्माणको काम गरेको रकम नपाएको र चालु आवमा निकै कम रकम भएकाले काम गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनले भने, “पुल निर्माणका लागि काम गरेको रकम पाउन सकिएको छैन । यो वर्ष पुल निर्माणका लागि पर्याप्त रकम पनि छैन । काम गरेको रकम भुक्तानी भए तत्काल पुल निर्माणको काम सुरु हुन्छ अन्यथा काम गर्न सक्ने अवस्था छैन ।” गत आवमा काम गरेको करिब तीन करोडभन्दा बढी रकम पाउन नसकेको उनले बताए । 

बिल भुक्तानीका लागि मन्त्रालयमा पटक पटक धाए पनि भुक्तानी हुन नसकेको भन्दै निर्माण व्यवसायी रायमाझीले भने, “पुल निर्माणको कामलाई अघि बढाउन समयमै भुक्तानीको व्यवस्था हुनु पर्छ तर सरकारले काम गरेको भुक्तानी दिन सकेको छैन । जसले गर्दा बाँकी काम हुन नसकेको हो ।” 

निर्माण व्यवसायीले सरकारबाट पैसा नपाउँदा कामदारलाई पारिश्रमिक दिन नसकेको उनले बताए । पुल सेक्टर कार्यालय नेपालगञ्जका इन्जिनियर रामकिसुन चौधरीले बजेटको चरम अभावका कारण निर्माणको काममा समस्या भएको बताए । पुल निर्माणको काम सुरु भए पनि पर्याप्त बजेट नहुँदा निर्माणको काममा समस्या भएको उनले बताए । पुल निर्माणका क्रममा पक्की सडक भत्काएर बनाएको डाइभर्सन पनि पटक पटक बाढीले बगाउँदा नागरिकले सास्ती बेहोर्नु परेको छ ।

प्रतिक्रिया