Listen LIVE

भारतमा बम विस्फोटपछि जमुनाहा नाकामा ‘हाइ अलर्ट’

नेपालगञ्ज : भारतको दिल्लीमा भएको कार बम विस्फोटपछि नेपालगञ्जस्थित नेपाल–भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा अत्यधिक कडाइ गरेको छ ।

नेपाल–भारत जमुनाहा नाकाबाट आवागमन गर्ने हरेक नेपाली र भारतीय नागरिकसँग सोधपुछ गरेर उनीहरुको परिचयपत्र हेरेर मात्रै आवागमन गर्न दिइएको भारतीय सुरक्षा निकाय शसस्त्र सीमा बलले जनाएको छ ।

नाकाबाट आवागमन गर्ने सवारी साधनहरुमाथि पनि कडा निगरानी राखिएको र तालिम प्राप्त कुकुरहरुबाट चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सशस्त्र सीमा बल एसएसबीका कमान्डेन्ट गंगासिंह उदावतले बताए ।

उनले नेपाल भारतको नेपालगन्ज नाका पनि निकै संवेदनशील मानिएकाले यो नाकामा चेकजाँच बढाउनुका साथै प्रहरी र एसएसबीको टोलीले निरन्तर ग्रामीण क्षेत्रहरुमा समेत गस्ती गरिरहेको बताए ।

यो नाकामा आवागमन गर्ने हरेक व्यक्तिसँग विस्तृत सोधपुछ गर्नुका साथै कडा चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सीमापारी भारतीय रुपैडिहा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रमेश सिंहले बताए ।

उनले केन्द्रबाट नै सीमा नाका र आवागमन गर्ने हरेकमाथि कडाइ तथा निगरानी गर्ने निर्देशन आएकाले सोही बमोजिम गस्ती र पेट्रोलिंग बढाइएको बताए ।

भारतको राजधानी दिल्लीको लालकिला अगाडि भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढि घाइते भएका थिए । सोही घटनापछि भारतले आफ्नो देशसँग सीमाना जोडिएका सबै नाकामा हाइ अलर्ट र कडाई सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया