नेपालगञ्ज : दारुल फैजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिले रमादान महिना २०८१ को इफ्तार र शेहरीको कार्यतालिका समेटेर क्यालेन्डर सार्वजनिक गरेको छ ।
समितिको दोस्रो पूर्ण बैठक पश्चात् मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँ सहित कार्यसमितिका पदाधिकारीहरुले रमादानको क्यालेन्डर सार्वजानिक गरेको प्रवक्ता आलम खानले जानकारी दिए । रमादान महिनालाई सदभावपूर्ण तरिकाले मनाउन जामा मस्जिदले अपिल गरेको छ । आउने फाल्गुन १८ गतेबाट रमादान शुरु हुने जामा मस्जिदका मुफ्ती जाफर रजाले बताए ।
समितिको बसेको दोस्रो बैठकले मुस्लिमहरुको एक महिने रमादानलाई सदभावपूर्ण तरिकाले सम्पन्न गर्नका लागि गृह प्रशासनसंग बैठक बस्ने र तराबी नमाजलाई व्यवस्थित गर्नका लागि समितिका सदस्य इस्हाक सिद्धिकिको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता खानले बताए ।
समितिका सदस्य रहिस हल्वाईको संयोजकत्वमा संस्थाको सम्पूर्ण सम्पत्तिको आर्थिक हरहिसाब राख्ने गरी तीन सदस्यीय समितिसमेत गठन गरेको छ । पूर्व समितिका पदाधिकारीहरुको आन्तरिक द्वन्द्वकाका कारण लामो समयदेखि अनिर्णयको बन्दी बनेको जामा मस्जिद ईदगाह सञ्चालक समितिका पूर्व अध्यक्षहरुको नेतृत्वमा गठन गर्न माग उठेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकबाट पूर्वअध्यक्ष रहमान मियाँको अध्यक्षतामा पूर्ण अधिकारसहित १७ सदस्यीय समिति गठन गरेपछि समितिले आफनो कामलाई तिब्रता दिएको छ । बैठकले नवनिर्मित जामा मस्जिदको उद्घाटन बिशिष्ट मुस्लिम धर्म गुरुबाट आगामी शुक्रबार गराउने निर्णय गरेको छ ।
आठ बर्षदेखि लेखापरीक्षण र नविकरण नगरी करोडौ रकम अपचलन गरेको भनी केही तत्वहरुले प्रचारबाजी गरेको कार्यप्रति जामा मस्जिद समितिको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । समितिका प्रवक्ता आलम खानले पूर्वसमितिले २०७८–०७९ सम्मको लेखा परीक्षण गरी आन्तरिक राजेश्व कार्यालयबाट कर चुक्ता प्रमाणपत्रसमेत लिई सकेको र बाँकी ०७९–८० देखि हालसम्मको लेखा परीक्षण नगरेको देखिएकोले कपोलकल्पितरुपमा धार्मिक संस्थामा करोडौको अपचलन भएको भनी हल्ला फैलाउनु गलत भएको टिप्पणी गरे ।
उनले जामा मस्जिदमा आर्थिक हिनामिना भएको विषयमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा छानविन भईरहेकोले छानबिन प्रतिबेदन नआए सम्म अनियमिताका विषयमा टिकाटिप्णी नगर्न आग्रह गरे । छानविन समितिले विबादरहित तरिकाले सक्दो छिटो काम सम्पन्न गरी संस्थाको बाँकी रहेको लेखापरीक्षण र नविकरण गराउनमा सहयोग गरिदिन छानबिन समितिका संयोजक खत्रीसंग प्रवक्ता खानले अपिल गरे ।
अध्यक्ष मियाँको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष मोहम्मद हुसेन हल्वाई सहसचिव अब्दुल अजीज काजी अन्सारी, समितिका सदस्यहरु र बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ र कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारीलगायतको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार