Listen LIVE

बारको भवनबाट जिल्ला अदालतको सेवा

नेपालगञ्ज : गत भदौ २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा गरिएको आगजनी घटनामा जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलास पूर्ण रूपमा जलेर ध्वस्त भए । सो आगजनीमा अदालतसँगै उच्च अदालत बार एशोसियसन नेपालगन्ज र जिल्ला अदालत बार एशोसियसनको भवन पनि क्षतिग्रस्त भएका थिए ।

विपद्को बेला सरकारी संरचना नष्ट भएका कारण न्याय सम्पादनमा समस्या उत्पन्न भए पनि, वकिलहरुको पेशागत संस्था बार एशोसियसनले आफ्नै पहल र स्रोतसाधन प्रयोग गरी आफ्नो भवन मर्मत सम्भार गर्न सफल भयो । उच्च अदालत बार एशोसियसन नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाहीका अनुसार, बारको पुनर्निर्मित भवनबाट सेवा प्रबाह गर्ने गरि आजदेखि जिल्ला अदालतलाई हस्तान्तरण गरिएको छ ।

यससँगै जिल्ला अदालतले बारको तल्लो तलाबाट नियमित सेवा सुरु गरेको छ । अध्यक्ष शाहीले भने, “सरकारी संरचना ध्वस्त भएका कठिन अवस्थामा पनि बारले आफ्नो स्रोत र श्रमबाट मर्मत सम्भार गरी न्यायिक सेवा निरन्तरता दिन सहयोग गरेको हो ।” उनका अनुसार यो कार्य वकिलहरुको ऐक्यबद्धता र न्यायप्रति प्रतिबद्धताको उदाहरण भएको उनले बताए ।

आगलागीले विधि शासनका संस्थामाथि परेको गम्भीर क्षतिपछि बारको यो पहलले पुनः न्यायिक सेवा सहज बनाउन सहयोग पु¥याएको वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले बताए ।

भदौ २४ गते भएको आगजनीमा अदालत परिसरका महत्वपूर्ण कागजात, संरचना र उपकरण जलेका थिए । सो घटनापछि न्यायिक कार्वाही अस्थायी रूपमा स्थगित गरिएको थियो । हाल, बार एशोसियसनको पहलले भएको यो कार्यले पुनः न्यायिक कामकाज सहज भइ पीडित पक्षहरुलाई राहत पुगेको अध्यक्ष शाही बताउँछन् ।

प्रतिक्रिया