Listen LIVE

वातावरण संरक्षण, हरित अर्थतन्त्रसम्बन्धी फोटोग्राफी तालिम

नेपालगञ्ज : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजनाअन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । 

तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।

युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । 

साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ । 

सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्खेतका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले अनुगमन भ्रमण गरेका थिए । अनुगमनका क्रममा उनले सहभागी युवतीहरूलाई उत्साह प्रदान गर्दै यो तालिम उनीहरूको व्यवसाय प्रवद्र्धन र प्रचार–प्रसारका लागि अत्यन्त उपयोगी हुने बताए । 

तालिमको समापन सत्रमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर संजिता रिजालले सहजीकरण गरेकी थिइन् । तालिमका सहभागीहरू पूजा कुस्मा थारु र अस्मिता कुमारी चौधरीले तालिमले हरित फोटो तथा भिडियोग्राफीसम्बन्धी आफ्नो ज्ञान र सीपमा उल्लेखनीय वृद्धि भएको बताइन् । 

उनीहरूले सिकेका सीपहरू डिजिटल प्लेटफर्ममार्फत आफ्नो व्यवसाय प्रवद्र्धन तथा विस्तारमा प्रयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

त्यसैगरी, तालिमका अधिकांश सहभागीहरूले सो अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा जनचेतना अभिवृद्धि गर्न हरित दृश्य सामग्री उत्पादन गर्ने र प्रमाणमा आधारित सामग्रीमार्फत स्थानीय सरोकारवालालाई संलग्न गराउने बताए । 

सो तालिम सुमित घिसिङले प्रदान गरेका थिए भने परियोजना प्रमुख राधेकृष्ण थारुले परियोजनाका उद्देश्यबारे जानकारी गराउँदै सिकेका सीपको अधिकतम उपयोग गर्न अनुरोध गरे ।

तलिमको व्यवस्थापनमा क्लबका फिल्ड सुपरभाइजरहरू संजिता रिजाल र कञ्चन दहितले सहयोग पुर्याएकी थिइन् ।

प्रतिक्रिया