Listen LIVE

मटकोर विधि सम्पन्न, आज माता सीताको वैवाहिक समारोह

जनकपुरधाम : त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत् जननी जानकीबिच भएको विवाहको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । 

महोत्सवको पाँचौँ दिन बिहिबार मटकोर (वेदीका लागि माटो खन्ने) विधि सम्पन्न भएको छ । शुक्रबार दिउँसो  मैथिली परम्परा अनुसार स्वयम्बर र राति वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जानकारी दिए । 

जानकी मन्दिरका पुजारी रामरोशन दासको नेतृत्वमा साधु सन्तसहितको सहभागितामा बाजागाजासहितको लस्कर जनकपुरधामको पवित्र गङ्गासागर पोखरीमा पुगेर मटकोरको विधि सम्पन्न गरेको हो । सो अवसरमा महिलाहरूले विभिन्न प्रकारका वैवाहिक गीत प्रस्तुत गरेका थिए । 

जानकी माताको मटकोर विधि हेर्नका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन गङ्गासागरको डिलमा पुगेका थिए । वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जन्तीको समेत जानकी माताको मटकोर कार्यक्रममा सहभागिता रहेको थियो । मटकोर विधिका क्रममा जनकपुरधामको गङ्गासागरबाट लगिने माटोले वेदी निर्माण गरिने र सोही वेदीमा शुक्रबार वैवाहिक कार्यक्रम हुने बताइएको छ । सात दिवसीय कार्यक्रममा जगत् जननी जानकीका पिता राजा जनकको भूमिका जानकी मन्दिरका महन्त राम तपेश्वर दासले निर्वाह गरिरहेका छन् भने मर्यादा पुरुषोत्तम भगवान् रामका पिता दशरथको भूमिका राम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले निर्वाह गरिरहेका छन् ।

विवाहपञ्चमीका अवसरमा जानकी मन्दिरसहित जनकपुरधामका विभिन्न मन्दिरमा पूजाअर्चना गर्न आएका श्रद्धालु भक्तजनको भिड नै लागेको छ । शुक्रबार वैवाहिक कार्यक्रम हुने भएकाले भिडभाड अझै बढ्ने भन्दै स्थानीय प्रशासनले बिहीबारदेखि नै जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीले जनाएको छ ।  

यसैबिच मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीबार नै अयोध्याबाट जनकपुरधाम आएका जन्तीको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । मुख्यमन्त्रीको निवासमा आयोजित दिवाभोजमा सहभागी भएका जन्तीलाई मुख्यमन्त्री सिंहसहित उद्योग पर्यटनमन्त्री सकिल मियाँ, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जैसवालसहितका मन्त्रीले कम्बल वितरण गरेका थिए ।

प्रतिक्रिया