Listen LIVE

राप्तीसोनारी गाउँपालिकामा अस्थायी बाँध मर्मत

नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिका र सिआरएसको सहकार्यमा कटान भइरहेको ८० मिटर बाँधको अस्थायी मर्मत गरिएको छ । बाँसको टेको लगाएर, नाइलनको जालीमा नाइलनकै बोरामा बालुवा भरेर उक्त मर्मत कार्य गरिएको हो ।

बजेट अभाव हुँदा राप्ती सोनारी गाउँपालिकाले खल्ला झगडियामा राप्ती नदीले कटान गरेको बाँध अस्थायी रूपमा मर्मत गरेको हो । जनताको तटबन्ध कार्यालयले स्थायी मर्मत नगरेको कारण गाउँपालिकाले गैरसरकारी संस्थासँगको सहकार्यमा बाँधको अस्थायी मर्मतको काम अघि बढाएको जनाएको छ ।

वडा नम्बर ७ का अध्यक्ष रामलखन थारुका अनुसार मर्मत कार्यमा १२ हजारभन्दा बढी बालुवा भरेका बोराको प्रयोग गरिएको छ, जसको लागत १२ लाख रुपैयाँभन्दा बढी अनुमान गरिएको छ । ‘यो मर्मत प्राथमिक उपचार मात्रै हो, बाँधको स्थायी मर्मत अझै आवश्यक छ ।’,उनले भने । 

वडाध्यक्ष थारुका अनुसार स्थायी रूपमा करिब पाँच सय मिटर बाँध मर्मत गर्न करिब ६ करोड रुपैयाँ लाग्ने अनुमान छ । खल्ला झगडियासँगै विश्वम्भरपुरमा पनि बाँध कटान भइरहेको हुँदा तत्काल मर्मतको आवश्यकता रहेको उनले बताए । 

गाउँपालिका अध्यक्ष तप्त पौडेलले जनताको तटबन्ध कार्यालयले बजेट अभाव देखाएर मर्मत कार्यलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए ।

प्रतिक्रिया