नेपालगञ्ज : बाँकेमा भूमि समस्या समाधान आयोगले हालसम्म करिब एक हजार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुर नगरपालिकाका विभिन्न वडामा चार चरणमा गरी जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिए ।
अध्यक्ष खनालले भने,“अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकाहरुलाई लालपुर्जा वितरण कार्य चलिरहेको छ । ”
अध्यक्ष खनालका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । कोहलपुरकै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।
यसैगरी राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४, बैजनाथ गाउँपालिका ७, खजुरा ६ र जानकी ५ मा नाप नक्साको काम सम्पन्न भएको छ । यसैगरी राप्तीसोनारी ३, ५, ७ र ९, बैजनाथ ४ र ६, खजुरा ४ र ५ नेपालगञ्ज उपमहानगरपालिका २० मा नाप नक्सा जारी छ ।
राप्तीसोनारी १, बैजनाथ १, जानकी ४, नेपालगञ्ज १८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ ।
नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ भने डुडुवा गाउँपालिका वडा नम्बर ६ को निवेदन दर्ता र निस्सा वितरण कार्य हुँदैछ । आयोगका अनुसार थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि तयारी अवस्थामा छ ।
आयोगका अनुसार हालसम्म ५३ हजार ७०५ जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ । जसमध्ये आठ हजार ३०० निकुञ्ज क्षेत्रभिका छन् । आयोगले दोस्रो र तेस्रो सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार