Listen LIVE

दाङमा राष्ट्रिय बाल साहित्य सम्मेलन शुरु

दाङ : घोराहीमा शुक्रबारदेखि दुई दिने २९ औं राष्ट्रिय बाल साहित्य सम्मेलन सुरु भएको छ । सम्मेलन उद्घाटनका अवसरमा घोराहीस्थित तुलसीपुर चोकबाट साहित्यिक ¥याली सुरु गरी बजार परिक्रमा गरिएको छ ।

र्यालीमा विभिन्न सांस्कृतिक झाँकी र प्लेकार्डसहित साहित्यकार र बालबालिकाहरू सहभागी भएका थिए । ¥यालीपछि गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा सम्मेलनका विभिन्न कार्यक्रम सञ्चालन हुने नेपाल बाल साहित्य समाजले जानकारी दिएको छ । सम्मेलनमा राष्ट्रिय स्तरका ५० भन्दा बढी साहित्यकार सहभागी भएको स्थानीय कार्यक्रम संयोजक तथा राप्ती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासीले बताए ।

सम्मेलनमा कृष्णराज सर्वहारीले ‘थारु भाषामा बालसाहित्यको अवस्था’ र सूर्य बीसीले ‘दाङको बालसाहित्यको रूपरेखा’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । साथै कार्यक्रममा बालसाहित्य र पठन संस्कृति, बालसाहित्यको प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका, सामाजिक संजालले बालबालिकामा पारेको प्रभाव, पुस्तकको भौतिक गुणस्तर र विद्यालयमा पुस्तकालयको भूमिकाबारे विज्ञहरूसँग बहस गर्ने कार्यक्रम रहेको उदासीले बताए ।

यसका साथै विद्यालय नेतृत्वसँग अन्तर्क्रिरयाका साथै शिक्षक, अभिभावकसँग कथा वाचनबारे बहस गर्ने कार्यक्रम रहेको बाल साहित्य समाजका महासचिव तथा सम्मेलनका केन्द्रीय संयोजक विजयराज आचार्यले बताए । यसैगरी पुस्तक प्रदर्शनी, पुरस्कार वितरण, सम्मान र कला प्रस्तुति गरिने बाल साहित्य समाजका महासचिव तथा सम्मेलनका केन्द्रीय संयोजक आचार्यले बताए । कार्यक्रममा प्राध्यापक चूडामणी बन्धुलाई सार्वजनिक सम्मानको कार्यक्रम पनि रहेको उनले बताए ।

यसैगरी बालबालिकालाई साहित्य लेखन, अभिनय, चित्रकला, नृत्यकला, कथावाचन लगायत विषयमा प्रशिक्षण दिने कार्यक्रम छ । सम्मेलनमा ४ सय ५० बालबालिकालाई सहभागी गराई विभिन्न विधामा प्रशिक्षण दिएर कला र साहित्यको सीप विकास गराउन थालिएको स्थानीय आयोजक समितिका सदस्य–सचिव सूर्य बीसीले बताए । साथै बालप्रतिभाको प्रदर्शनका साथै कथा, कविता र हस्तलेखन प्रतियोगितासमेत गरिने उनले बताए ।

नेपालमा बालसाहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले २०४४ सालमा पाहिलोपटक काठमाडौंमा बाल साहित्यका लेखक, प्रकाशक र चित्रकारहरूको सम्मेलन भएको थियो । उक्त सम्मेलनले बाल साहित्य समाज स्थापना गरेको थियो । समाजले प्रत्येक वर्ष सम्मेलन गर्दै आएको छ । गत वर्ष प्यूठानमा २८ औं सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया