नेपालगञ्ज : नेपालगञ्ज पुरैनीस्थित कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान थालिएको छ । ग्रिन नेपालगञ्ज तथा क्लिन नेपालगञ्जका अध्यक्ष अभियन्ता डा विनोद कर्णको अगुवाइमा सो हस्ताक्षर सङ्कलन शुरु भएको हो ।
केही दिन अघिदेखि शुरु भएको हस्ताक्षर सङ्कलन केही दिनसम्म जारी रहने अभियन्ता कर्णले जानकारी दिए । उनले अहिलेसम्म करिब २५० जनाको हस्ताक्षर सङ्कलन भएको र सङ्कलन भएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, बाँके र नेपालगञ्ज उपमहानगरपालिकालाई बुझाउने कार्यक्रम रहेको बताए । “कान्ति तालमा रेलिङ भाँचिएको छ, फोहोरको कुनै व्यवस्थापन गरिएको छैन र पछिल्लो समय मदिरा सेवन गर्ने अखडा बन्न थालेको छ”, उनले भने ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ को पुरैनीमा रहेको सो ताल सिमसार क्षेत्रका रुपमा स्थापित हुन थालेको छ । हरित अभियन्ता डा कर्णले हस्ताक्षर सङ्कलनपछि तालको संरक्षणमा सरोकार भएका निकायको ध्यान जाने विश्वास व्यक्त गर्दै कान्ति ताल पर्यटकका लागिसमेत गन्तव्य भएको बताए ।
“त्यहाँ विभिन्न प्रजातिका चराको बासस्थान छ, यसले पर्यटकलाई समेत लोभ्याउने गर्छ”, डा कर्णले भने । करिब २५ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त प्राकृतिक तालको वरिपरि उपमहानगरले इँटाको पर्खाल र त्यसमा रेलिङ लगाएको थियो । वरिपरि दुई किलोमिटर कालोपत्रे सडक, फुटपाथ र पार्किङ एरिया बनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ का वडाध्यक्ष राजकुमार शाहु तेलीले कान्ति तालको संरक्षणको खाँचो आँैल्याउँदै कान्ति तालमा रहेका संरचनाको चोरी भइरहेको बताए ।
वडाध्यक्ष तेलीले त्यहाँ जडान भएका विद्युतका संरचनासमेत चोरी हुँदा अहिले रातिमा बत्ती नबलेको उल्लेख गर्दै बाँकेमा रहेको यस तालको संरक्षण अनिवार्य भएको बताए । नेपालगञ्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन् स्थलसमेत भएको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार