Listen LIVE

पर्यटकको पर्खाइमा बर्दियाको कुम्भर अड्डा स्मृति पार्क

बर्दिया : बर्दियाको बारवर्दिया नगरपालिका –१० सेमरहवामा रहेको कुम्भर अड्डा बेपत्ता योद्धा स्मृति पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ । आन्तरिक पर्यटकहरुको पिकनिक (वनभोज) खाने स्थल, सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएकाहरु फर्किन्छन् कि भनेर प्रतिक्षा गर्ने केन्द्र पनि स्मृति पार्क बनेको स्थानीयको भनाइ छ । 

२०५२ फागुन १ गतेदेखि शुरु भएको तत्कालीन माओवादीको सशस्त्र युद्धमा राज्यपक्ष र माओवादी पक्षबाट गरेर करिब १७ हजार बढीको ज्यान गएको थियो । एक हजार तीनसय बढी मानिसहरु बेपत्ता भएका थिए । त्यसमध्ये थारु बाहुल्य जिल्ला बर्दियाका हजारौं थारु बेपत्ता सूचीमा अझै छन् । सयौंको संख्यामा थारुहरुको ज्यान गएको थियो । बेपत्ता भएकाहरुको परिवारका सदस्यहरुले अझै पनि आफ्नो मान्छे फर्किन्छन् कि भनेर आश नमारेको बताउने गरेका छन् । स्मृति पार्कले बेला–बेला आश जगाउने गरेको स्थानीय लहानी चौधरीले बताइन् ।

उनको श्रीमान कर्णबहादुर थारु सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका थिए । अहिलेसम्म उनको अवस्था अज्ञात छ । श्रीमान् फर्किने आश अझैसम्म नमरेको लहानीले आशा व्यक्त गरिन् ।

यस्तै सोही ठाउँका तेजबहादुर थारुले आफ्नो छोरा रामदुलारे थारु फर्किने आशमा अझै बसेका छन् । द्वन्द्वकालमा सेनाले समातेर व्यारेकमा लगे पनि आफ्नो छोरा अझै नफर्केकाले कुनै दिन फर्किने आशा नमरेको उनले पीडा सुनाए । बेपत्ता भएको लामो समय भइसकेकाले छोरा अब नफर्किने गाउँले सबैले भन्ने गरे पनि बुवाको मनले आश मार्न नसकेको उनको भनाई छ । 

सो पार्कमा २५० बढी बेपत्ताहरुको सूची राखिएको छ । पार्कमा स्तम्भ बनाएर बेपत्ताको सूचीमा सबैको नाम कुँडिएको छ । घरका सदस्यहरु सोही स्मृति पार्कमा गएर नाम हेर्दै आफन्त आउने आशमा प्रतिक्षा गर्नेगरेको स्मृति पार्कका महासचिव टीकाराम परियारले बताए । लाश फेला नपर्दासम्म आफन्तमा आश हुने गरेको उनले बताए । 

महासचिव परियारका अनुसार ३५ हेक्टर क्षेत्रफलमा फैलिएको स्मृति पार्कमा शहिदहरुको स्तम्भ मात्र छैन, बेपत्ताहरुको प्रतिक्षाको सूची समेत राखिएको छ । बेपत्ता भएकाहरुको स्मृतिमा प्रतिक्षालय बनाइएको छ । २०६६ सालमा पेरहवा सामुदायिक वन उपभोक्ता समूहले स्मृति पार्कका लागि जग्गा दिएपछि त्यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने जमर्को स्थानीयले गरेको उनले बताए । 

स्मृति पार्कमा टाढा टाढाबाट वनभोज खान मान्छेहरु आउने गरेको, कलाकारहरु सुटिङका लागि आउने गरेको सुनाउँदै उनले पिकनिकका लागि दिनभरीमा १५० रुपैयाँ शुल्क निर्धारण गरिए छ भने व्यक्ति प्रवेशका लागि २० रुपैयाँ शुल्क तय गरिएको उनले बताए । सोहीअनुसार स्मृति पार्कमा आउने आगन्तुकले थारु पहिरन लगाएर तस्बिर लिन चाहेमा भाडामा थारु पहिरन, पोशाक पनि उपलब्ध गराउने गरिएको उनले बताए ।

पहिलेभन्दा अहिले स्मृति पार्कका बारेमा प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको परियारको भनाइ छ । वर्दियाको सदरमुकाम गुलरिया बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको सो स्मृति पार्कमा पर्यटक भित्रिनसके स्थानीय पर्यटन प्रवद्र्धन र योद्धाहरुको स्मृतिलाई अझ ताजा पार्ने बुझाइ स्थानीयको छ ।

प्रतिक्रिया