Listen LIVE

राप्तीसोनारीका किसानलाई जैविक मल उत्पादन तालिम

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोल मल तथा जैविक मल सम्वन्धि तालिम दिन सुरु गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ सर्राबाट तालिमको सुरुवात गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक खड्क केसीले बताए ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले तालिमको उदघाटन गरेका थिए । त्यसक्रममा उनले झोल मलले बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण गर्ने र रासायनिक मलको तुलनामा लागत खर्च पनि कम लाग्ने भएकाले किसानहरुलाई जैविक मल उत्पादनमा जोड दिए । पछिल्लो समय बालीनालीमा विषादीको बढ्दो प्रयोगका कारण सुरक्षित उत्पादनमा चुनौती थपिएका बेला किसानहरुलाई यस सम्वन्धि सचेतनाका लागि पनि यो तालिमको आवश्यकता रहेको उनको भनाई छ ।

झोल मल गाईवस्तुको गोबर, पिसाब, असुरो, सिस्नु, तितेपाती, निम र बकाइनो जस्ता विभिन्न वनस्पतिहरूबाट तयार पारिन्छ । रासायनिक मल तथा रासायनिक विषादीको सट्टामा झोल मल प्रयोग गरी रोग तथा कीरा नियन्त्रण गर्न सकिने भएकाले यसको महत्व बढ्दै गएको वडा नम्बर ७ का कार्यबाहक अध्यक्ष दिपबहादुर थारुले बताए । 

वडा नम्बर ७ बाट सरु भएको तालिम पालिकाका १ देखि ९ नम्वरसम्मकै वडामा दिने तयारी पालिकाको छ । त्यसका लागि चालू आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरिएको केसीले बताए । तालिममा झोल मल तथा जैविक मल कसरी बनाउने ? यसका फाइदाहरु के–के छन् ? यसको प्रयोग विधि, विषादी नियन्त्रणमा यसले पुर्याउने लाभ लगायतका बारेमा किसानहरुलाई जानकारी गराइनेछ ।

प्रतिक्रिया