Listen LIVE

बाँकेमा मूर्ति विसर्जन गरिँदै, ड्रोनमार्फत निगरानी

डुडुवा (बाँके) : बाँकेमा विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरूको आज विसर्जन हुँदैछ ।

बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदीको सिधनिया घाटमा मूर्ति विसर्जन भइरहेको छ । मूर्ति विसर्जनका क्रममा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ भने ड्रोन क्यामेरामार्फत निगरानी गरिएको छ ।

बाँके जिल्ला प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना तयार पारी कार्यान्वयन गरिरहेको छ । यसै योजनाअन्तर्गत मूर्ति विसर्जन जुलुसको सुरक्षा र निगरानीका लागि थप सुरक्षा उपायहरू अपनाइएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले ड्रोन क्यामेरामार्फत सुरक्षा अवस्थाको निरन्तर अनुगमन भइरहेको जानकारी दिए ।

उनका अनुसार नेपालगञ्जका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा मूर्तिहरूको विसर्जन, बजारको अवस्था र सुरक्षाबारे ड्रोनमार्फत अनुगमन गरिएको छ ।

बाँके जिल्लामा मूर्ति स्थापना गरिएका करिब ६ सयभन्दा बढी स्थानमा दुर्गा मूर्तिलाई राप्ती नदी, डुडुवा खोला र मान खोलामा लगेर विसर्जन गरिँदै छ । स्थानीय अगुवा नन्दलाल वैश्यका अनुसार घटस्थापनादेखि स्थापना गरिएका मूर्तिहरूलाई नौ दिनसम्म विशेष पूजापाठ गरी दशैँको भोली पल्ट परम्परागत रूपमा विसर्जन गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्दपूर्ण, शान्तिपूर्ण र सामाजिक सद्भावका साथ सम्पन्न गर्न विशेष सुरक्षा व्यवस्था गरिएको बताए ।

मूर्ति विसर्जन कार्यक्रमको सुरक्षा व्यवस्थालाई कडा बनाइँदै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया