Listen LIVE

बाँकेमा अश्वपालक महिलालाई सीपमूलक तालिम

नेपालगञ्ज : ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक महिलाका लागि तीन महिनाको सीपमूलक तालिम औपचारिकरूपमा शुरु गरिएको छ । 

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्रविधिक सहयोगमा सञ्चालन भइरहेको यो तालिमले घोडा, खच्चड, गधालगायतका अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ–कटाइ र बुनाइको व्यावसायिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ ।

भेरी प्राविधिक शिक्षालयकी प्रमुख आशा श्रेष्ठले नेपाल सरकारले देशभर महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमलाई अत्यधिक प्राथमिकताका साथ लागू गरिरहेको बताइन् । उनले बाँकेमा पनि विशेष गरेर मधेसी र मुस्लिम समुदायका महिला तथा किशोरीलाई सीपमा सक्षम बनाउन नेपाल सरकारले धेरै प्रभावकारी तालिमको आयोजना गरेको जानकारी दिइन् ।

गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिका व्यवस्थापक निर्देशक मधु खड्काका अनुसार मङ्सिर २३ गतेदेखि फागुन २२ गतेसम्म सञ्चालन हुने यस तालिममा मुस्लिम समुदायका महिलासहित २० जना सहभागी भएका छन् । खड्काका अनुसार तालिमलाई व्यवहारिक र पूर्ण व्यावसायिक बनाउने उद्देश्यले अनुभवी प्रशिक्षक सङ्गीता गौतमले सहभागीलाई प्रशिक्षण दिँदैछिन् ।

सहभागीहरुलाई तालिमका लागि आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिम सम्पन्न भएपछि महिलाहरूलाई स्वरोजगारका अवसर खोजिदिन तथा सीपलाई व्यवहारिक उद्यममा रूपान्तरण गर्नसमेत सहजीकरण गरिने छ ।

प्रतिक्रिया