नेपालगञ्ज : नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्टले वेराजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा आज नेपालगञ्जमा आयोजित स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको छलफल कार्यक्रममा प्रमुख विष्टले स्थानीय सरकारले अहिले रोजगारीको क्षेत्र पहिचान गर्ने, सीप सिकाउने र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक परामर्श सेवा प्रदान गर्ने लगायतका कार्यहरु गर्दै आएको बताए ।
‘केही वर्ष अघिसम्म रोजगारका लागि आवश्यक परामर्श सेवा लिनै अलमलमा पर्ने अवस्था थियो,’ उनले भने–‘अहिले त्यो अवस्था फेरिएको छ । स्थानीय तहमै शाखा स्थापना भएको छ ।’ उनले एकैपटक सबैलाई रोजगारी दिन र सीप सिकाउन नसकिने भएकाले आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले कामहरु गर्दै आएको बताए ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले रोजगारी प्रदान गर्ने सवालमा स्थानीय सरकारलाई चुनौतीपूर्ण रहेको भएपनि सीप सिकाउने काम गरेर वातावरण बनाउने काम गर्दै आएको बताइन् । संघीय सरकारले नै बजेट कटौती गरेको अवस्थामा स्थानीय सरकारलाई थप दवाव सिर्जना भएको उनको भनाई छ । तथापि खजुरा गाउँपालिकाले अन्य शाखाहरुमा बजेटको भोलुम घटाए पनि रोजगार सेवा केन्द्रलाई बजेट थप गरेको उपाध्यक्ष मल्लले बताइन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबी, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम बहादुर रानाभाट, सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंह नेपाली लगायतले रोजगारीको पहिचान गरेर त्यसै अनुसारको उनीहरुलाई सीप सिकाएर बेराजगारी समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए ।
रोजगार सेवा केन्द्र नेपालगञ्जका प्रमुख मन्जु ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण भने कोहलपुर नगरपालिकाका रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले गरेका थिए । कार्यक्रममा केही पालिकाका प्रमुख प्रशासकीय अधिकृत, सबै स्थानीय तहका रोजगार संयोजकहरुको पनि उपस्थिति रहेको नेपालगञ्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप बर्माले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार