नेपालगञ्ज : भारतको उत्तरप्रदेश राज्य अन्तर्गतको नानपारा तहसील क्षेत्रका करिब तीन हजार कावड यात्रीले बिहीबार नेपालगञ्ज पुगेर ऐतिहासिक बागेश्वरी मन्दिर परिसरभित्र रहेको खडेश्वर जुँगे महादेवलाई “मैत्री जल” चढाएका छन् ।
नानपाराको शिवपुर तकिया घाटबाट सरयू नदीको पवित्र जल लिएर बिहीबार बिहान नेपालगञ्ज पुगेका उनीहरूले नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्र रहेको खडेश्वर जुँगे महादेवलाई “मैत्री जल” चढाएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कार्यालय प्रमुख राजु केसीले बताए ।
गुठी व्यवस्थापन समितिले मैत्री जल लिएर आएका भारतीय धार्मिक पर्यटकको भव्य स्वागत गरेको जनाउँदै उनले जल चढाएर पूजापाठ गरेपछि उनीहरु भारत फर्किएको बताए ।
नवयुवक कावरिया सङ्घ नानपारा भारतका तहसील अध्यक्ष कुंवर बद्रीनाथ प्रताप सिंहको नेतृत्वमा आएको कावडियाको टोलीले भारतको शिवपुर तकिया घाटबाट जल सङ्कलन गरी पैदल यात्रा गर्दै नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा पुगेको थियो ।
कावड यात्राको उद्देश्य भारत र नेपालबीचको धार्मिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउनु रहेको नवयुवक कावरिया सङ्घ नानपारा भारतका तहसील अध्यक्ष सिंहले बताए ।
यस वर्षको यात्रामा राजेश पटेल, रवि वर्मा र जगतराम पटेलको विशेष सहयोग थियो । राति सोही मन्दिरमा विश्राम गरेका कावडियाहरू बिहीबार बिहान ६ बजे भारत–नेपाल सीमा खुल्नेबित्तिकै बागेश्वरी मन्दिरतर्फ प्रस्थान गरेका थिए ।
स्थानीय प्रशासन र नेपालगञ्जका सामाजिक संस्थाले यात्रालाई सहयोग गर्दै कावड यात्रुलाई दुई देशबीचको धार्मिक र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्वागत गरेका थिए ।
यो यात्रा धार्मिक मात्र नभई दुई देशबीचको सांस्कृतिक सहकार्य र सद्भावको प्रतीकका रूपमा रहेको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार