Listen LIVE

नरैनापुरका विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

नरैनापुर (बाँके) : सशस्त्र प्रहरीले सीमावासीसँग सम्बन्ध विस्तार गर्न सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत बाँकेको दुर्गम र कम विकसित क्षेत्र मानिने नरैनापुरको नाकामा रहेका विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । 

नरैनापुर गाउँपालिका ४ स्थित नेपाल भारत नाकामा रहेको घोरदौडिया गाउँमा रहेको राष्टिय आधारभूत विद्यालयमा अध्ययनरत दुई सय जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख एसपी बिमल डाँगीले बताए । उनले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नाका नजिकका नेपाली बासिन्दासँग छलफल, भेटघाट, अन्तरक्रिया र अन्य गतिविधी गरेर नागरिक र प्रहरीको सम्बन्ध सुदृढ पार्दै गएको जनाउँदै सोही अन्तर्गत शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको बताए । 

यसअघि केही दिन पहिले मात्रै डुडुवा गाउँपालिकाको खडैंचा नाका नजिक शसस्त्र प्रहरीले निःशुल्क स्वास्थ्य शिविर राखेर करिब ३०० जना स्थानीयको उपचार र औषधी वितरण गरेको थियो । बिहीबार नरैनापुर ४ घोरदौडिया गाउँमा आयोजना गरिएको कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगी, वडा नम्बर ४ का वडा अध्यक्ष मनोज शर्मा र विद्यालयका प्रधानाध्यापकले बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको सशस्त्र प्रहरीका डिएसपी गजेन्द्र चन्दले बताए । उनले सो अवसरमा बालबालिकालाई कपि, कलम, पेन्सिल, इरेजर र सर्पनर तथा भलिबल, फुटवल र ब्याटमिन्टनका खेल सामग्री हस्तान्तरण गरिएको बताए ।  

सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले शसस्त्र प्रहरीले सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ निकै उपयोगी, समय सान्दर्भिक र सीमाको रक्षाका लागि अतिआवश्यक रहेको बताए । यस्ता कार्यक्रमले सीमा नजिक बसोबास गर्ने नेपाली र सुरक्षाकर्मीको सम्बन्ध सुदृढ भई विभिन्न गैर कानुनी काम र गतिविधि रोक्न सहयोग मिल्ने अध्यक्ष शाहले बताए । 

सोही प्रकारले केही दिन अघि मात्र सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण शम्शेरगञ्जले पनि विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो । सशस्त्र प्रहरी बल नम्बर ४२ रिजर्भ गण, शम्शेरगन्जले राप्ती सोनारी गाउँपालिका–८ स्थित भगवती आधारभूत विद्यालयका १३२ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो । 

सशस्त्र प्रहरी नायब उपरीक्षक छवी रावतका अनुुसार स्थानीयबासीसँग समन्वय र सहकार्य गर्ने उद्देश्यले विद्यार्थीलाई शैक्षित सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया