नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाको सहकार्यमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक विकास मञ्चमार्फत उक्त सामग्री वितरण गरिएको हो ।
सहायक सामग्री वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन सामग्री वितरण गरिएको बताए । उनले सरकारले प्रदान गर्ने सेवा–सुविधा बाहेक पनि उपमहानगरपालिकाले ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइरहेको जानकारी दिए । साथै अल्बानिजम भएका व्यक्तिहरूलाई समेत केही भए पनि निःशुल्क स्वास्थ्य बिमामा जोडेको मेयर विष्टले बताए ।
कार्यक्रममा सामाजिक विकास मन्चका अनुगमन अधिकृत शान्त कुमार चौधरीले १० वटा ह्वीलचेयर, १ वटा कमोड चेयर र १ वटा ट्राइसाइकल गरी जम्मा १२ वटा सहायक सामग्री वितरण गरिएको जानकारी दिए । ती सामग्रीहरूको कुल लागत १ लाख ७३ हजार ५ सय रुपैयाँ बराबर रहेको उनले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, कार्यपालिका सदस्य बसन्त कनोजिया, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पवित्रा पुरी, महिला विकास अधिकृत आशा शाही लगायतको उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार