दाङ : दाङमा वन्यजन्तुको अवस्था पहिचान गरिने भएको छ । जिल्लाका चार स्थानीय तह अन्तर्गत रहेको जङ्गलमा वन्यजन्तुको अवस्था पहिचान गर्न थालिएको हो । डिभिजन वन कार्यालय घोराहीको समन्वय तथा तराई भूपरिधि कार्यक्रम (ताल) को प्राविधिक सहयोगमा वन्यजन्तुको पहिचान गर्न थालिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दङ्गीशरण गाउँपालिका अन्तर्गत रहेको जङ्गल क्षेत्रमा वन्यजन्तुको अवस्था पहिचान गर्न थालिएको तालका सह–व्यवस्थापक नवीन ढुङ्गानाले जानकारी दिए ।
उहाँका अनुसार दङ्गीशरण गाउँपालिकाक–१ र २, घोराही उपमहानगरपालिका–१, २, ३ र ५, तुलसीपुर उपमहानगरपालिका–१३ र लमही नगरपालिका–१, ३, ५, ६, ७, ८ र ९ नम्बर वडामा अध्ययन गर्न थालिएको छ । सरकारले निर्धारण गरेको मापदण्ड अनुसार क्यामरा ट्रयाप विधिबाट अध्ययन गरिने उनले बताए । सहव्यवस्थापक ढुङ्गानाका अनुसार यसअघि दाङको देउखुरी क्षेत्रसँगै कपिलवस्तु र अर्घाखाँचीमा वन्यजन्तुको अवस्थाबारे अध्ययन गरिएको थियो । अध्ययनका लागि खटिनेलाई तालिम दिइसकेको भन्दै उनका अनुसार यही मङ्सिर २४ गतेबाट जङ्गल क्षेत्रमा क्यामरा जडानको काम सुरु हुने छ । उनले भने, “यो कार्यक्रमको मुख्य उद्देश्य भनेको जङ्गल क्षेत्रमा बाघलगायतका वन्यजन्तुको अवस्था पहिचान गर्नु हो ।”
वन्यजन्तुको बारेमा जानकारी लिनका लागि चार पालिकामा १०९ वटा क्यामरा जडान गरेर अध्ययन गरिने डब्लुडब्लुएफ नेपालका वरिष्ठ अनुसन्धान अधिकृत समुन्द्र सुब्बाले बताए । वन्यजन्तुको अध्ययनका लागि जिल्लामा २४ जनाको टोली खटिने भएको छ । जङ्गल क्षेत्रमा क्यामरा ३० दिनसम्म राखेर अध्ययन गरिने भन्दै वरिष्ठ वन अधिकृत सुब्बाले भने, “अध्ययनपछि यस क्षेत्रका जङ्गलमा कुन कुन प्रजातिका वन्यजन्तुको बसोबास रहेको छ, त्यो पत्ता लाग्ने छ ।”
अध्ययनले यस क्षेत्रमा कुन प्रजातिको वन्यजन्तुको जोखिम बढ्दै गएको छ भनेर पत्ता लाग्ने र त्यसको संरक्षण र व्यवस्थापनमा सहयोग पुग्नेसमेत उनले बताए । दाङ जिल्लामा पहिलो पटक हुन थालेको अवस्था पहिचानले वन्यजन्तुको बारेमा जानकारीसँगै उनीहरूको संरक्षणमा सहयोग पुग्ने सुब्बाको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार