नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १० गतेदेखि नेपालगञ्जमा प्रादेशिक महोत्सव २०८१ आयोजना हुँदैछ। ‘उद्योग, व्यापार, कृषि, जडीबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन व्यावसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको उदघाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले साढे दुई दशकदेखि क्षेत्रीय आर्थिक गतिविधिलाई सबल बनाउन मेला, प्रदर्शनी र महोत्सवको आयोजना गर्दै आइरहेको छ। यस वर्षको महोत्सवले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खाद्यवस्तु, जडीबुटी, कृषि उत्पादन, हस्तकला, अटोमोबाइल्स र सूचना प्रविधिका नवीनतम प्रविधिहरूलाई प्रदर्शनमार्फत बजारीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला र सूचना प्रविधिका ३५० भन्दा बढी स्टलमा स्थानीय तथा राष्ट्रिय उत्पादनका विविध वस्तुहरू राखिने छ । थारू संस्कृति झल्किने विशेष प्रदर्शनी, सांस्कृतिक कार्यक्रम विद्यालयस्तरीय प्रतियोगिता, प्रवद्र्धन प्रदर्शनी युवाहरूका लागि रोजगारीसम्बन्धी जानकारी उपलब्ध गराइने आयोजक संघका अध्यक्ष टंक बहादुर धामीले जानकारी दिए।
कोरोना महामारी र आर्थिक मन्दीबाट प्रभावित पश्चिम नेपालका उद्योगी तथा व्यवसायीहरूलाई एउटै थलोमा राखेर महोत्सवले नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। स्थानीय उत्पादनको बजारीकरण, राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउने र व्यावसायिक गतिविधिलाई प्रोत्साहित गर्न यो महोत्सव महत्वपूर्ण हुने संघका अध्यक्ष धामीले बताए।
महोत्सवमा थारू संस्कृति झल्काउने प्रस्तुतिहरू, स्थानीय जातीय नृत्य, र व्यावसायिक उद्यमशालाको प्रदर्शनले नेपालगञ्ज क्षेत्रको सांस्कृतिक तथा व्यावसायिक विविधता उजागर गर्नेछ।
महोत्सवले क्षेत्रीय विकास, पर्यटन प्रवद्र्धन, रोजगार सिर्जना र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ। सम्पूर्ण नागरिक, उद्योगी, व्यवसायी र राजनीतिक दललाई महोत्सवमा सहभागिता जनाई सफल बनाउन अपिल गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार