Listen LIVE

भन्सारको ब्यारियर सारिएपछि आवागमन सहज

नेपालगञ्ज : नेपालगञ्ज १६ जयसपुरस्थित पुरानो भन्सार कार्यालय अगाडिको ब्यारियर त्यहाँबाट जमुनाहा नाकामा सारिएपछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज भएको छ । 

नेपालगञ्जस्थित पुरानो भन्सार कार्यालय अगाडि रहेको ब्यारियर राति १० बजेपछि बन्द गरिँदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समयमा नेपालभित्रै आवागमन गर्न समस्या भएको थियो । 

भन्सार कार्यालय नयाँ निर्माण गरिएको आइसीपीमा सारिसकिएको हुँदा स्थानीयको मागलाई सम्बोधन गर्दै पुरानो भन्सार कार्यालय अगाडिको ब्यारियरलाई त्यहाँबाट हटाएर जमुनाहा नाकामा सारिएको राजस्व चुहावट नियन्त्रण समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । 

प्रजिअ रिजालले ब्यारियरलाई नाकामा सार्नुका साथै बन्द हुने समय पनि आधा घण्टा बढाएर राति साढे १० बजेसम्म गरिएको बताए । नेपाल र भारत नाकाको भारततर्फको गेट भारतले १० बजेर १५ मिनेटमा बन्द गर्ने हुँदा नेपालीलाई आफ्नो नाकामा छिर्न साढे १० बज्ने भएकाले अबदेखि नेपालतर्फको गेट साढे १० बजे बन्द गर्ने निर्णय गरिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए । 

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले भन्सार नजिकको ब्यारियर नाकामा सारिएपछि यस क्षेत्रका नेपालीलाई आवश्यक कामले कुनै पनि बेला नेपालगञ्ज आउन जान सहज भएको बताए । 

उनले यसअघि पिप्रहवा र जयपुर क्षेत्रका नेपाली बिरामी परेपछि वा अन्य कुनै विशेष कामले रातिको समयमा उनीहरूलाई नेपालगञ्ज आउन र फर्किन समस्या हुने गरेकोमा अब सहज भएको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले ब्यारियर सार्दा आफ्नो गाउँका बासिन्दालाई राति हिँड्न सहज भएको हुँदा खुशी लागेको बताए । 

बाँके जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जनताको मागलाई ध्यानमा राखेर बारिएर सारिए पनि सुरक्षाचौकी निरन्तर राखिने बताए । सर्वसाधारणको समस्यालाई ध्यानमा राख्दै नेपालगञ्ज भन्सार कार्यालय अगाडिको ‘ब्यारियर’ हटाउन वा रातिको समयमा खुल्ला राखेर स्थानीय नागरिकले भोग्दै आएको सास्ती हटाउन विभिन्न राजनीतिक दलका नेताहरूदेखि सर्वसाधारणसम्मले यसअघि पटक पटक माग गर्दैआएका थिए । 

सो क्रममा नेकपा (एमाले) बाँकेका उपसचिव किशोर थापा, नेपालगञ्जका उपमेयर कमरुद्दीन राई लगायतले प्रमुख जिल्ला अधिकारी रिजाललाई भेटेर सो बारेमा ध्यानाकर्षण गराएका थिए । 

सो ब्यारियर नाकामा सारिएपछि उक्त क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् । स्थानीय मन्जुर खाँले ब्यारियर सार्ने र साढे १० बजे रातिसम्म खुला राख्ने निर्णय अति नै सराहनीय रहेको बताए ।

प्रतिक्रिया